जन सरोकारबिशेष

सीताका आँखा अझै ओभानो हुन सकेन

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका बर्दियाका खक्काप्रसाद चौधरीको १४ दिन बितिसक्दा कुनै खोजखबर नआएपछि पत्नी सीता चौधरीका आँखा अझै ओभानो हुन सकेको छैन ।

“यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता हुनुभयो”, श्रीमती सीता थारुले गहभरि आँसु झार्दै भन्नुभयो । श्रीमानको चिन्तामा पीडित सीता दिनरात टोलाएर बस्नुहुन्छ, कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नुहुन्छ कि ! सीताको अझै आशा मरेको छैन । दसैँ खर्च जुटाउनका लागि नुवाकोट जानुभएका थियो । उहाँ भन्नुहुन्छ, “घरको मुख्य व्यक्ति श्रीमान् नै बेपत्ता भएपछि सहराविहीन बनेको बताउनुहुन्छ ।”

सीताका दुई छोरी छन् । कञ्चन चौधरी १२ वर्षकी, कक्षा ६ मा पढ्छिन्, भने सानी छोरी शीतल चौधरी पाँच वर्षकी छिन्, बाल कक्षामा पढ्दैछिन् । सरकारले पतिको खोजी गर्न ढिलाइ गरेकामा उनलाई थप चिन्ता परेको छ ।

सीताका श्रीमान् खक्का बाढी आएको दुई हप्ता अगाडि मात्रै नुवाकोटको त्रिशूली ३ ‘बी’मा काम गर्न गएका थिए । बेपत्ता खक्का लामो समयदेखि स्वदेशका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको थियो ।

अरुबेला उहाँले श्रीमती र कान्छी छोरी सानी भएकाले सँगै लिएर काम गर्न जाने गर्नुभएको थियो । तर, यसपटक भने उनले कान्छीलाई विद्यालय भर्न गरेकाले पढाइ बिग्रिने चिन्ताले घरमै छाडेका थिए ।

विदेश जान खक्काले पासपोर्ट बनाइसकेका थिए । भिसा नआउँदा कमाई गर्न नुवाकोट जानुभएको थियो । “घर बनाउँदा लिएको ऋण रु पाँच लाख तीर्न बाँकी छ”, सीताले सुनाउनुभयो ।

श्रीमान्को खोजी गर्न सीता भदौ १३ गते आफन्तसहित चितवनसम्म पुगेका थिए । दुई दिन चितवन र नवलपरासी पूर्वका विभिन्न अस्पतालमा खोजी भयो, भेट्टिएनन् । श्रीमान्को पहिचानका लागि जिल्ला अस्पताल, गुलरियामा ठूलो छोरी कञ्चनले डिएनए परीक्षणका लागि रगत दिएका छन् ।

मजदुरी गरी घर व्यवहार चलाउँदै आएका खक्का सानैदेखि नै टुहुरो थिए । सानोमै बुवा गुमाएका उहाँले चार वर्ष अगाडि आमा पनि गुमाइसकेका थिए ।

छत्तीस वर्षका खक्का सानै उमेर भएदेखि नै बाहिर मजदुरी गर्दै घर व्यवहार चलाउँदै आउनुभएको थियो । अहिले उहाँको एउटा भाई गङ्गाप्रसाद चौधरी छन्, तर छ वर्ष अगाडि अलग भएर अहिले विदेशमा हुनुहुन्छ ।

सीताका श्रीमान् खक्काजस्तै रसुवा बाढीबाट बर्दियाका ७६ जना बेपत्ता छन् । बारबर्दियाका मात्रै २५ जना रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.