गत भदौ २३ गते राति लोमान्थाङलाई केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ३ म्याग्निच्युडको भूकम्पले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा करिब ८० प्रतिशत घरमा क्षति पुगेको छ। घर बस्न जोखिमपूर्ण बनेपछि स्थानीयवासी, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन्।
गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार करिब ५० देखि ६० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। गाउँपालिकाका अन्य चार वडामा समेत अधिकांश घरमा मध्यमदेखि पूर्ण क्षति पुगेको छ। भूकम्पपीडितले पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारी सहयोगको अपेक्षा गरेका छन्।
भूकम्पबाट लोमान्थाङस्थित दिव्यदीप माध्यमिक विद्यालयको छात्रावास, शिक्षक आवास र स्टोर भवनसमेत क्षतिग्रस्त भएका छन्। विद्यालयका ८४ विद्यार्थी तथा शिक्षक त्रिपाल र कक्षाकोठामा रात बिताउन बाध्य भएका छन्। भवनमा क्षति पुगेपछि नियमित पठनपाठनसमेत प्रभावित भएको प्रधानाध्यापक कमलेसकुमार त्रिपाठीले बताउनुभयो।
भूकम्पबाट छोदे गुम्बाको पर्खाल भत्किएको तथा ऐतिहासिक लोमान्थाङ दरबारमा समेत चिरा परेको स्थानीयले बताएका छन्। गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ।





प्रतिक्रिया राख्नुहोस्