खेलविविध

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।

डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला भएका थिए । सङ्गीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर ¥याली निकाले । उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो ।

अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना हुने ओलम्पिकको युवा संस्करण हो । सेनेगलमा आयोजना हुन लागेको यस प्रतियोगिताले अफ्रिकी युवाका लागि नयाँ अवसर र प्रेरणा दिने अपेक्षा गरिएको छ ।

‘लिन्गीर’मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताउनुभयो । “अगाडि बढिरहेको र भविष्यतर्फ हेरिरहेको महादेशलाई विश्वसामु चिनाउन सेनेगल एउटा प्रवेशद्वार मात्र हो”, उहाँले भन्नुभयो ।

सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले समारोहमा ओलम्पिक कल्ड्रन प्रज्वलित गर्नुभयो । अन्तरराष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले यसलाई सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताउनुभयो ।

ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योतिले सोमबारदेखि करिब तीन हजार ६०० किलोमिटर यात्रा गर्नेछ । ४०० भन्दा बढी मशाल–बाहकसँगै यसले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्नेछ र उद्घाटन समारोहका लागि डाकार फर्कनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.