बिचार

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ ।

हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने व्यवस्था गरिएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ । वैकल्पिक ‘ट्र्याक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ । यो सङ्कटको सारथि कान्ति लोकपथ बनेको छ ।

ललितपुर र मकवानपुरलाई जोड्ने यो सडकको प्रस्थान विन्दु ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरव हो । टीकाभैरव पुग्न चक्रपथ ललितपुर खण्डको चापागाउँ दोबाटो र एकान्तकुनाबाट नक्खु करिडोर हुँदै दुईवटा सडक प्रयोग गर्न सकिन्छ । अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौँडा जाने गरेका छन् ।

ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म पुग्न विभिन्न ठाउँमा पहिरोको अवरोध सामना गर्नुपर्छ । कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।

भालुखोला, कार्कीबास, काल्चे, भन्सेखोलाको पहिरो र एकतर्फी ट्र्याकका कारण सवारी आवागमनमा समस्या छ । सुपरभाइजर घिमिरे भन्नुहुन्छ, “बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेली नजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन् । भान्से खोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।”

बागमती गाउँपालिकाकै पाङदुरमा ८०० मिटर पार गर्न २५ मिनेटदेखि आधा घण्टा समय लाग्छ । “अहिले यस राजमार्गमा १२, १४ र १६ चक्के गाडी दैनिक दुई हजार ५०० देखि तीन हजार गुड्छन् । त्यसले रातभर पुरेको सडक दिनभरमा फेरि भत्किसकेको हुन्छ,” लोकपथको समस्या सुनाउँदै सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा ६५ मिटर बाटोमा ठूलो समस्या छ । चट्टानको कटानको काम जारी रहेकाले यहाँ सवारीसाधनले थोरै बाटो पार गर्न धेरै समय कुर्नुपर्ने बाध्यता रहेको घिमिरेको भनाइ छ ।

साँघुरो र निर्माणाधीन सडक भएकाले ठूला बस सञ्चालनमा समस्या भएको उहाँ बताउनुहुन्छ । “ट्रक र मालवाहक सवारीसाधन केही समय जाममा परे पनि समस्या छैन तर ठूला रात्रि बस ठोक्किने समस्या धेरै छ । नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ । रात्रि बसका कारण मालवाहक सवारी साधन समस्यामा पर्ने गरेका छन”, सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

सरकारले पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकालाई समस्या पर्दा मात्र कान्ति लोकपथलाई सम्झिने भएकाले यो सडकमा सधैँ समस्या भएको सुपरभाइजर घिमिरेको अनुभव छ ।

“यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो । सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ । पछिल्लो समय यो सडक योजनाका लागि एकमुष्ट रु तीन अर्ब रकम आएको छ । योजनाअनुसार काम ७० प्रतिशत सकिएको छ तर पछिल्लो समय गाडीको चाप बढेर काम गर्न समस्या छ,” सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

चौबिस घण्टा ट्राफिक व्यवस्थापन, व्यापारमा मन्दी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन २४ घण्टा हेभिइक्युपमेन्ट राखिएको छ । भट्टेडाँडा र टीकाभैरवमा हेभिइक्युपमेन्ट राखिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । सवारी चाप बढेसँगै टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

“भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने यो सडकमा बाढीपछि सवारी चाप ह्वात्तै बढेको छ । एक दिनमै एक हजारदेखि एक हजार ५०० सम्म सवारी साधन गुडेको तथ्याङ्क छ”, प्रवक्ता सुवेदी भन्नुहुन्छ । मालवाहक सवारीसाधन गुड्न थालेपछि यो सडकको व्यापारमा कमी आएको व्यापारीहरु बताउँछन् ।

कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्ने प्रमिला दाहाल भन्नुहुन्छ, “अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन् । ठूलाठूला गाडी त गुडेका छन् तर व्यापार छैन । एकछिन गाडी रोक्दा जाम हुन्छ । एउटा गाडीमा चालक मात्र हुन्छ । के व्यापार हुनु !” यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै गुड्दा दैनिक २०० जनालाई खाना खुवाउने उहाँ अहिले पाँच÷दश जनाले मात्र खाना खाने गरेको सुनाउनुहुन्छ ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन सरकारले केही दिनअघि कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले सङ्कट पर्दा मात्र नभएर राज्यले यस्ता राजमार्गलाई सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद महर्जनले भन्नुभयो, “राष्ट्रिय राजमार्गका रुपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ तब त्यही सडकलाई वैकल्पिक सडकका रुपमा खोल्नुपर्ने अवस्था आउँछ । सङ्कट पर्दा मात्र सम्झिने होइन, सङ्कट आउनु अगाडि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो ।”

सत्तरी वर्षे इतिहास बोकेको राजमार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यका जोडिने सात दशक पुरानो सडक मार्ग हो । विसं २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफैँ यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा पुग्नुभएको थियो । सोही वर्ष आएको पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो ।

विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डिपिआर डिजाइनको काम सुरु भएपछि यो सडकलाई सङ्कटको समयमा सम्झिने गरिएको छ ।

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण विस्तार तथा स्तरोन्नति भएपछि यो सडक सञ्चालनमा आएको हो । सञ्चालनपछि विभिन्न ठाउँमा पहिरोले अवरोध गर्दा विभिन्न आर्थिक वर्षमा सडक विस्तारका लागि निरन्तर बजेट विनियोजन भएको छ ।

कान्ति लोकपथको ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ । ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक कच्ची छ ।

२०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि बेलिब्रिज जडान गरिएको छ । त्यसको भारवहन क्षमता र सुरक्षाको दृष्टिगत गर्दै मालवाहक खाली गाडीलाई मात्र यो सडकमा सञ्चालनका लागि अनुमति दिइएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.