जन सरोकार

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ । हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ ।

विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन् । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने अवसर दिएको छ । “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ”, उहाँले भन्नुभयो । बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको उहाँको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ पनि नियमित रूपमा हाटबजारमा सामान बेच्न आउनुहुन्छ । उहाँले गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री ल्याएर बिक्री गर्नुहुन्छ ।

“पहिले सामान बेच्न बजार टाढा जानुपथ्र्यो, खर्च पनि बढी हुन्थ्यो । अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाका अनुसार हाटबजारले केवल व्यापारमात्र होइन, सामाजिक भेटघाटको थलोका रूपमा पनि काम गरिरहेको छ । शुक्रबार आउँदा गाउँभरिका मानिस भेटिन्छन्, कुराकानी हुन्छ, नयाँ जानकारी साटासाट हुन्छ । यसले गाउँमा चहलपहल बढाएको छ ।

साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सुरु गरेको यो पहल अहिले किसान, साना व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष सेतु बनेको छ ।

“स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निरास हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ”, अध्यक्ष चुमानले भन्नुभयो । हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उहाँको भनाइ छ ।

उहाँले हाटबजारलाई केवल किनबेच गर्ने स्थानमात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सृजना र सामुदायिक जमघटको थलोका रूपमा पनि लिनुपर्ने बताउनुभयो ।

किसानको उत्पादनले उचित मूल्य पाउने, उपभोक्ताले ताजा सामान पाउने र गाउँमा आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीयवासी यसलाई ‘गाउँको सानो बजार, ठूलो सहयोग’ भन्दै प्रशंसा गर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.