जन सरोकार

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।

हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका छन्, अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन् ।

भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि अहिले सिङ्गो थपुवा शोकको भुमरीमा छ । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका छन् ।

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ ।

ढोकाको सङ्घारमा आँखा ओछ्याएर ‘कतै फर्किहाल्छन् कि !’ भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच अनलालको परिवार विछोडको भारी थाम्न विवश छ ।

अर्कोतर्फ रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा परी बेपत्ता भएपछि उहाँहरूको घरको दियो नै निभेझैँ भएको छ ।

१६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहन्छन् । तीजको यो उज्यालो मौसममा यी अबोध बालबालिकाको कलिलो जीवन रातारात अँध्यारो सुरुङभित्र खसेको छ ।

स्थानीयवासी टेकराज जैसीका अनुसार यो अकल्पनीय शोकले गाउँका कसैको पनि मनमा चाडपर्वको उमङ्ग छाएको छैन । “गाउँका पाँच–पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु ?”, उहाँ भन्नुहुन्छ, “गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन् ।”

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेषगरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,” उहाँले भन्नुभयो, “हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा रहेका छौँ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.