भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चालू रहेको जलविद्युत आयोजनाहरु क्षतिग्रस्त भएपछि नेपालको ऊर्जा निर्यातको क्रम रोकिएको छ ।
आयोजनाबाट विद्युत उत्पादन हुन नसक्ने भएपछि भारतले नेपाललाई ठूलो परिमाणमा विद्युत निर्यात गर्नेभएको छ । भारतले सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्म राति १२ बजेदेखि साँझ ६ बजेसम्म दैनिक १८ घण्टा अधिकतम ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ।
यसअन्तर्गत मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् आपूर्तिबारे भने सन् २०२६ डिसेम्बरमा पुनरवलोकन गर्ने जनाएको छ। पछिल्लो निर्णय बाढीबाट नेपालको जलविद्युत् उत्पादन क्षमतामा परेको असरका कारण तत्कालीन विद्युत् आवश्यकता पूरा गर्न केन्द्रित देखिन्छ।
वर्षायाममा भारतलाई बेच्ने, हिउँदमा भारतबाट किन्ने
नेपाल–भारत विद्युत् व्यापार पछिल्ला वर्षमा दुईतर्फी बन्दै गएको छ। वर्षायाममा नदीमा पानीको बहाव बढ्दा नेपालमा जलविद्युत् उत्पादन घरेलु मागभन्दा बढी हुने भएकाले अतिरिक्त विद्युत् भारतलाई बिक्री हुँदै आएको छ। तर हिउँदमा नदीको बहाव घटेसँगै जलविद्युत् उत्पादन कम हुने भएकाले नेपाल भारतबाट विद्युत् आयातमा निर्भर हुने गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारततर्फ २ अर्ब ३८ करोड युनिट विद्युत् निर्यात भएको थियो भने भारतबाट १ अर्ब ६८ करोड युनिट विद्युत् आयात भएको थियो। सो वर्ष नेपाल पहिलोपटक विद्युत् व्यापारमा खुद निर्यातकर्ता बनेको थियो।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशतर्फ विद्युत् बिक्रीबाट नेपालले रु. २९ अर्ब ३२ करोड आम्दानी गरेको छ। सोही अवधिमा भारतबाट रु. १० अर्ब ५५ करोडको विद्युत् आयात भएको थियो।
यसबाट विद्युत् व्यापारमा नेपालले रु. १८ अर्ब ७६ करोडको खुद बचत गरेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक उद्धृत गर्दै सार्वजनिक विवरणमा जनाइएको छ।
भारतले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई आफ्नो डे-अहेड र रियल-टाइम पावर मार्केटमा बिक्री गर्न अनुमति दिँदै आएको छ।
नेपालले भारतसँगको व्यापार विस्तारसँगै बंगलादेशतर्फ पनि भारतीय प्रसारण प्रणाली प्रयोग गरेर विद्युत् निर्यात सुरु गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको थियो।
निर्यात बढाउने तयारी, बाढीले लग्यो चुनौती
नेपाल र भारतले विद्युत् व्यापार विस्तारका लागि सीमापार प्रसारण संरचना पनि विस्तार गरिरहेका छन्। गत जुलाईमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठकले ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् आयात–निर्यात क्षमता बढाउने सहमति गरेको थियो।
संयुक्त प्राविधिक अध्ययनपछि यी दुई प्रसारण लाइनको संयुक्त क्षमता आयाततर्फ १ हजारबाट १ हजार ४ सय मेगावाट र निर्याततर्फ १ हजार १ सयबाट १ हजार ६ सय ५० मेगावाट पुर्याउने सहमति भएको थियो।
नेपालले सन् २०३५ सम्म भारततर्फ १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। त्यसका लागि नयाँ सीमापार प्रसारण लाइन निर्माण र भारतीय बजारमा थप नेपाली आयोजनाको विद्युत् बिक्रीको बाटो खोल्ने प्रयास भइरहेको छ।
तर भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले नेपालको यही निर्यातमुखी ऊर्जा यात्रामा तत्काल चुनौती थपेको छ। बाढीबाट जलविद्युत् आयोजनाका संरचना तथा प्रसारण पूर्वाधारमा क्षति पुगेपछि नेपालले केही समय विद्युत् निर्यात रोक्दै भारतबाट आयात बढाउनुपर्ने अवस्थामा पुगेको छ।
बाढीबाट करिब ४३१ मेगावाट अर्थात् नेपालको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत क्षमतामा असर परेको विवरण सार्वजनिक भएको छ।
भारतले कठिन परिस्थितिमा नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णयलाई दुई देशबीचको ऊर्जा सहकार्यको निरन्तरताका रूपमा लिएको छ।
नेपालका लागि भने यो घटनाले जलविद्युत् उत्पादनमा मात्रै निर्भर ऊर्जा प्रणाली, जलवायुजन्य विपद्बाट ऊर्जा पूर्वाधारमा पर्ने जोखिम र भारतसँगको सीमापार विद्युत् व्यापारको महत्त्वलाई एकैपटक उजागर गरेको छ।





प्रतिक्रिया राख्नुहोस्