जन सरोकारबिशेष

अप्पर त्रिशूलीमा पाँच र चिलिमेमा चार शव भेटिए

भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएको अप्पर त्रिशूली जलविद्युत आयोजनाको सुरुङमा पाँच शव भेटिएको छ । खोज तथा उद्धार टोलीले बुधबार आयोजना–१ को अडिट सुरुङभित्रबाट पाँच जनाको शव फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक अशोक थापाले उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको जानकारी दिनुभयो ।

त्यस्तै चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।

नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकुल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो ।

बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिनुभयो ।

नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धारको कामलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखेको प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.