जन सरोकार

क्यानभासमा उतारिँदै हिमाली सङ्कट

हिमनदी भत्केर भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा विश्वव्यापी रूपमा उठिरहेको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामासमेत यो विषयले महत्वका साथ प्रवेश पाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभालाई सम्बोधन गर्ने क्रममा आफूले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छानो भत्कँदै गएको’बारे दिएको चेतावनी स्मरण गर्नुभएको छ ।

महासभामा जलवायु न्यायका लागि नेपालका तर्फबाट आवाज उठाउन प्रधानमन्त्री वालेन्द्र शाह पनि यतिबेला अमेरिकामा हुनुहुन्छ । उहाँले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेको जनधनको क्षतिबारे विश्वसमुदायलाई ध्यानाकर्षण गराउनुहुने जनाइएको छ ।

यही पृष्ठभूमिमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा ‘अन्नपूर्ण कला कार्यशाला-२०८३’ आजदेखि सुरु भएको छ । कला कार्यशाला भइरहेको स्थान त्यही हो जहाँ विसं २०८० कात्तिक १४ गते संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस पुग्नुभएको थियो ।

अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे प्रत्यक्ष देखे/बुझेर फर्कनुभएका उहाँले सोही प्रसङ्गलाई संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा उठान गर्नुभएको हो ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जलवायु परिर्वतनका कारण हिमनदी भत्कँदा निम्तिएको भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीपछि नेपालले जलवायु न्यायका लागि आवाज उठाइरहेका बेला कला कार्यशालाको विषयवस्तु (थिम) पनि हिमाली क्षेत्रले भोगरिहेको जलवायु सङ्कटमा केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार कार्यशालामा पोखरा, काठमाडौँ र चितवनका गरी १२ जना कलाकार सहभागी छन् ।

“जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई कलामार्फत उजागर गर्ने र सँगै अन्नर्पूण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कला कार्यशाला राखिएको हो”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकारहरूले अन्नपूर्ण आधार शिविरमा पुगेर स्थलगत रूपमा कला सिर्जना गरिरहनुभएको छ ।”

पोखराका कलाकार रमेश श्रेष्ठको नेतृत्वमा रहेको टोली शुक्रबारसम्म कार्यशालामा सहभागी भएर पर्यटकीय गाउँ घान्द्रुक फर्कनेछ । घान्द्रुुकमा पनि दुई दिनसम्म बसेर उक्त टोलीले त्यहाँको प्रकृति, संस्कृति र जनजीवनलाई क्यानभासमा उतार्ने अध्यक्ष गुरुङले बताउनुभयो । चार दिनको पदयात्रापछि आज बिहान मात्र कलाकार आधार शिविर पुगेका छन् ।

कलाकारले जलवायु सङ्कटको असरसँगै अन्नपूर्ण क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पनि कलामा समेट्ने जनाइएको छ । कार्यशालामा सिर्जित कलालाई पोखरा र काठमाडौँमा प्रर्दशन गरिने भएको छ ।

“कलाकारका सिर्जनाले जलवायु परिवर्तनका कारण हाम्रो हिमाली क्षेत्रले भोगिरहेको असरप्रति सबैको ध्यानाकर्षण गराउनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

कार्यशालामा कलाकार रमेश श्रेष्ठ, केशर गुरुङ, गोपाल दराई, शान्तकुमार श्रेष्ठ, रिकबहादुर गुरुङ, श्रीजन राजभण्डारी, मुकेश श्रेष्ठ, लिलाधर केसी, दामोदर बराल, वरुणबाबु घिमिरे, सुदिन श्रेष्ठ र विश्व केसी सहभागी हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समितिलगायत सङ्घसंस्थाको सहयोग र सहकार्यमा कार्यशाला आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा क्रियाशील उक्त समितिले हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस (जुन ३)मा ‘अन्नपूर्ण म्याराथन’को आयोजना गर्दै आएको छ । ‘सबै मौसमका लागि पर्यटन’को अवधारणासहित घान्द्रुकलगायत क्षेत्रमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.