“हराइरहेको भविष्य” (कविता)
चौरी गोठहरु खुसी छर्छन
गुराँस सँग जिस्कदै
निमा मुर्चुङ्गा बजाँउछ
निमदिकी बाँसुरी फुक्छे
निमा र निमदिकी प्रेमील जोडि हुन
मुना मदन जस्तै ।
मदन भोट जान्छ
फरक यत्ति मात्र त हो
निमा अरब जान्छ
र जीवन घोट्छ तातो घाममा
निमदिकीको सपना पूरा गर्न ।
सपना निमदिकीको मात्र छैन
आमा बाका पनि होलान आ–आफ्नै सपना
डोल्मा टुकु टुकु हिड्छे
तोते बोलि बोल्छे ।
डोल्माका पनि त उम्रदै जान्छन आफ्नै सपना
निमा भरोसको केन्द्र हो
पूरा गर्नुपर्छ उसले बा आमा, डोल्मा र निमदिकीको सपना
र निखन्नु पर्छ बन्दकी घर खेत ।
दमले थलिएकी आमा
हरेक साँझ बाटो हेर्छिन
भञ्ज्याङ्गको चौतारी च्याउँदै
कुकुर भुक्छ
निमा आएको संकेत ठान्छिन
निःशब्द कुनै आवाज छैन
निमा आज पनि आएन
बुढा सँग गन्गनिन्छिन
सेतै फुलेको कपाल
चाउरी अनुहार
उदास आँखा बोकेर
अधकल्चो निन्द्रामै रातका प्रहर कटाउँछिन ।
सेलो गाउँथ्यो निमा
निमा परदेशिए पछि
गाउँ शून्य भएको छ
उसको अनुपस्थितिले
विवाह र उत्सवहरुमा
खासै रौनक छैन
दौतरीहरु नियास्रिएका छन
नियास्रिएका छन चौरीहरु
निमाको तातो स्पर्श नपाएर ।
निमदिकी !
धैर्यले मन बाँधि बस
निमा तिमीलाई घरि घरि सम्झदो हो
जसरी तिमी सम्झन्छ्यौ
तिमी सँग त मायाको चिनो
तिम्रै काखमा नाचिरहेकी छोरी छे
निमा सँग के छ र ?
जलेको मुटु बोकेर
तिम्रो प्रेमको वाचा कसम संझदै
बिरानो मुलुकमा
एकथान जिन्दगी घिसारि रहेछ
हराइरहेको भविष्य खोज्दै ।
सुन्दरहरैंचा–०६, दुलारी मोरङ
[email protected]




प्रतिक्रिया राख्नुहोस्