राजनीति

आन्दोलनरत रेजिडेन्ट चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकले आफूहरूले भोग्दै आएका समस्या समाधान गरी अध्ययनमा फर्कने वातावरण बनाउन सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्।

कलेजमा अध्ययन तथा काम गर्ने क्रममा विभिन्न समस्या भोग्दै आएको भन्दै विगत २४ दिनदेखि आन्दोलनरत पहिलो वर्षका ४० भन्दा बढी रेजिडेन्ट चिकित्सकले मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग सरकारसमक्ष प्रस्तुत गरेका हुन्।

मन्त्रालयमा आयोजित छलफलमा रेजिडेन्ट चिकित्सकले कलेज व्यवस्थापनबाट विद्यार्थीमाथि अनावश्यक दबाब दिने गरिएको, अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको तथा आफूहरूले मर्यादित र शान्तिपूर्ण वातावरणमा अध्ययन गर्ने अवस्था नपाएको गुनासो गरेका थिए। उनीहरूले समस्या समाधान गरेर तत्काल अध्ययनमा फर्कन सक्ने वातावरण निर्माणका लागि मन्त्रालयसँग आग्रह गरेका छन्।

आन्दोलनरत चिकित्सकले आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन्। “यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,” उनीहरूले भने।

चिकित्सकहरूले निजी मेडिकल कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्नसमेत माग गरेका छन्। उनीहरूले त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

रेजिडेन्ट चिकित्सकका अनुसार कलेजमा अध्ययन र काम गर्ने वातावरण नै सहज नभएको अवस्थामा तत्काल फर्किएर नियमित गतिविधिमा सहभागी हुने अवस्था छैन। आफ्ना माग र समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। प्रमुख सल्लाहकार झाले रेजिडेन्ट चिकित्सकले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

“यो विषयमा सरकार गम्भीर छ । शिक्षामन्त्रीले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ । हामी यथाशीघ्र यसलाई सम्बोधन गर्छौँ,” झाले भन्नुभयो।

मन्त्रालयका अनुसार कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा छलफल भएको छ। मन्त्रालयले रेजिडेन्ट चिकित्सकले उठाएका विषयको वास्तविकता बुझेर समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीका समस्याप्रति आयोग गम्भीर रहेको बताउँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

चिकित्सकहरूको आन्दोलन २४ दिनसम्म लम्बिँदा उनीहरूको अध्ययनसँगै कलेजको शैक्षिक वातावरण र चिकित्सा शिक्षा नियमनको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ।

विशेष गरी ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ जस्ता आरोपको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र विद्यार्थीलाई सुरक्षित तथा मर्यादित शैक्षिक वातावरण सुनिश्चित गर्नु सरकार तथा सम्बन्धित नियामक निकायको प्रमुख चुनौती बनेको छ।

रेजिडेन्ट चिकित्सकले भने सरकार र चिकित्सा शिक्षा आयोगको पहलबाट आफ्ना समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.