‘लमजुङ दरबार’सँगै बाँचेको माया
‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ ।
लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहनुभएकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो ।
बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थाल्नुभएको थियो ।
त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो । परिवार र आफन्तको साथमा उहाँको गायनयात्रा भने रोकिएन ।
विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालका लोकगीत सुन्ने अवसर पाएसँगै उहाँमा पनि गीत गाउने रहर बढ्यो । अवसर खोज्दै जाँदा त्यसको एक वर्षपछि २०४५ सालमा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा उहाँले गीत गाउने अवसर प्राप्त गर्नुभयो । त्यसपछि उहाँकै शब्द र स्वरका लोकगीत रेडियो नेपालमा गुञ्जिन थाले ।
विसं २०४५ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाउनुभयो ।
प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेको उक्त गीतले उहाँलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउनुका साथै लमजुङको साङ्गीतिक पहिचानसमेत फराकिलो बनायो ।
‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उहाँका चर्चित सृजना हुन् । गीतसङ्गीतको यात्रासँगै उहाँको व्यक्तिगत जीवन भने सहज रहेन । विसं २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गर्नुभएकी गुरुङले त्यसपछि पारिवारिक कठिनाइ झेल्नुपर्यो ।
घरपरिवारको जिम्मेवारी र आर्थिक अभावबीच पनि उहाँले गायनलाई छाड्नुभएन । कलाकारिताबाट मात्रै जीविकोपार्जन गर्न कठिन भएपछि पशुपालनलगायतका काम गर्नुभयो ।
“यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु”, उहाँले भन्नुभयो । लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने उहाँको चाहना अब पूरा हुँदैछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ । कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापनामा उपयोग गर्ने तयारी गरिएको छ ।
उहाँ पुराना लोकभाका र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताले आफ्ना मौलिक गीत, सङ्गीत र संस्कृतिलाई नबिर्सियोस् भन्ने चाहनुहुन्छ । समयसँगै गीत सुन्ने माध्यम र शैली फेरिए, कतिपय पुराना भाका ओझेल परे ।
तर उहाँको गीतसङ्गीतप्रतिको प्रेम भने उस्तै छ । “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ । मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस् । म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो”, उहाँले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्