राजनीति

बेपत्ताका परिवारलाई राहत दिन अध्यादेश ल्याउन संसदीय समितिको सुझाव

‘हिमाली जलवायु परिर्वतनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बेपत्ता व्यक्तिका परिवारलाई राहत, बिमा र क्षतिपूर्ति उपलब्ध गराउन कानुनी प्रक्रिया सरलीकृत गर्न अध्यादेश ल्याउन सुझाव दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न वर्षौँ कुर्नुपर्ने विद्यमान कानुनी व्यवस्थाका कारण पीडित परिवार राहत, बिमा, क्षतिपूर्ति र सम्पत्ति हस्तान्तरण जस्ता अधिकारबाट वञ्चित हुन सक्ने भन्दै ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’ मार्फत कानुनी सहजीकरण गर्न सुझाव दिएको हो ।

बैठकले विपद् प्रभावित परिवारको एकीकृत विवरण तयार गरी राहत वितरणलाई व्यवस्थित बनाउन, अस्थायी आश्रयस्थलमा रहेका नागरिकको तथ्याङ्क प्रमाणीकरण गर्न तथा सुरक्षित स्थानमा स्थायी पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

एकीकृत विवरण र पारदर्शी राहत वितरण

समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा तोकिएका समन्वय अधिकारीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ ।

पीडित परिवारको वास्तविक विवरण राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गरी एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणाली तयार गर्नुपर्ने सुझाव दिइएको छ । राहत तथा आर्थिक सहायता वितरणमा दोहोरोपन हुन नदिन र वास्तविक पीडित छुट्न नदिन समान मापदण्ड र पारदर्शी विधि अपनाउन समितिले आग्रह गरेको छ ।

स्थानीय जनप्रतिनिधिको सहभागितामा गुनासो सुनुवाइ संयन्त्र स्थापना गरी राज्यकोष, दातृ निकाय तथा अन्य सहयोगबाट प्राप्त रकम पीडितको बैंक खातामार्फत प्रत्यक्ष भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव बैठकले दिएको छ ।

बेपत्ताको खोजी र कागजात पुनः प्राप्ति

समितिले बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिन, पहिचान हुन नसकेका शवको पहिचान गर्न र सङ्कलित डिएनए नमूनाको परीक्षण तीव्र बनाउन सुझाव दिएको छ । शवको पहिचानपछि परिवारलाई ससम्मान अन्त्येष्टिको व्यवस्था गर्न आग्रह गरिएको छ ।

बाढी तथा पहिरोका कारण नष्ट भएका नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, शैक्षिक प्रमाणपत्रलगायत अत्यावश्यक कागजात पुनःप्राप्तिका लागि स्थानीय तहका वडा कार्यालयबाटै एकद्वार प्रणाली लागू गरी निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने समितिको सुझाव छ । मृत्यु दर्ता तथा राहत प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिइएको छ ।

अस्थायी आश्रयदेखि स्थायी पुनःस्थापनासम्म

काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका नागरिकको वास्तविक तथ्याङ्क तत्काल प्रमाणीकरण गर्न समितिले सुझाव दिएको छ ।

प्रभावित नागरिकको इच्छा, सीप र आवश्यकताका आधारमा सुरक्षित स्थानान्तरण तथा स्थायी पुनःस्थापनाको योजना बनाउनुपर्ने बैठकको निष्कर्ष छ ।

आसन्न चाडपर्व र चिसो मौसमलाई ध्यानमा राख्दै आश्रयस्थलमा पर्याप्त खाद्यान्न, न्यानो कपडा, स्वच्छ खानेपानी, नियमित स्वास्थ्योपचार तथा शिशु र सुत्केरीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव दिइएको छ ।

विपद्का कारण अभिभावकविहीन भएका बालबालिकाको राज्यकोषबाट संरक्षण र शिक्षादीक्षाको दीर्घकालीन व्यवस्था गर्न तथा मानसिक आघातमा परेका पीडित र उद्धारमा खटिएका सुरक्षाकर्मीसहितका जनशक्तिलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ ।

जोखिमयुक्त बस्तीको भौगर्भिक तथा प्राविधिक मूल्याङ्कन तीव्र पारेर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न आवश्यक जग्गा, बजेट र कानुनी सहजीकरणसम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट शीघ्र गर्नुपर्ने सुझाव बैठकले दिएको छ ।

स्थायी पुनःस्थापना गरिने बस्तीमा भूकम्प तथा बाढी प्रतिरोधी आधुनिक प्रविधिको प्रयोग गर्न र स्थानीय सीप, हस्तकला तथा कृषिमा आधारित साना तथा मझौला औद्योगिक केन्द्र विकास गरी प्रभावित परिवारको जीविकोपार्जन सुनिश्चित गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ ।

सडक र पुल पुनःनिर्माणमा जोड

गत भदौ १० गतेको भोटेकोशी र त्रिशूली करिडोरको बाढी तथा असोज महिनाको भारी वर्षाका कारण करिब ६९ किलोमिटर सडक र ३७ वटा पक्की पुलमा ठूलो क्षति पुगेको उल्लेख गर्दै समितिले पुनःनिर्माणलाई तीव्रता दिन सुझाव दिएको छ ।

सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयले क्षतिग्रस्त सडकका प्रत्येक खण्डका लागि पर्याप्त बजेट, जिम्मेवार निकाय र निश्चित समय सीमा तोकेर काम अघि बढाउनुपर्ने बैठकको सुझाव छ ।

सडक सम्पर्कविहीन भएका दुर्गम बस्तीमा अत्यावश्यक सामग्री ढुवानीका लागि वैकल्पिक व्यवस्था मिलाउन तथा बेलिब्रिज, झोलुङ्गे पुल र डाइभर्सन निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।

नेपाली सेना र स्थानीय प्रशासनको समन्वयमा बेत्रावती, देविघाट र स्याफ्रुबेँसी क्षेत्रमा पुल जडानको काम अघि बढाउन तथा स्थानीय तहसँग सहकार्य गरी वैकल्पिक सडक सुधार गर्न समितिले सुझाव दिएको छ ।

बाढीले जोखिमपूर्ण बनाएका गल्छी–स्याफ्रुबेँसी सडकखण्डका रातोमाटे तथा विदुर–बेत्रावती क्षेत्र र पृथ्वी राजमार्गका कृष्णभीर, जबाङखोला तथा शितलबजार क्षेत्रमा भूगर्भविद् र इन्जिनियरबाट तत्काल प्राविधिक परीक्षण गराउनुपर्ने बैठकको निर्णयमा उल्लेख छ ।

त्रिशूली र भोटेकोशी नदीको कटान नियन्त्रण गर्न नदी किनारमा बायोइञ्जिनियरिङ तथा बलिया रिटेनिङ पर्खाल निर्माण गरी सडक संरक्षणलाई दिगो बनाउन पनि समितिले सुझाव दिएको छ ।

भोटेकोशी–त्रिशूली विपद्का कठिन परिस्थितिमा खोज, उद्धार, राहत तथा अस्थायी आश्रय व्यवस्थापनमा योगदान पुर्याउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीप्रति बैठकले आभार व्यक्त गरेको छ ।

समितिका सभापति गणेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले अर्को बैठकको सूचना प्रकाशन भएपछि पुनः बैठक बस्ने गरी स्थगित गरेको छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.