जापानबिशेष

स्थानीय महिलाको हत्या आरोपमा अमेरिकी मरीन पक्राउ, जापानले अमेरिकासँग जनायो कडा विरोध

टोकियो- ओकिनावा प्रिफेक्चरमा कार्यरत एक अमेरिकी मरीन स्थानीय महिलाको हत्या तथा लुटपाटको आरोपमा पक्राउ परेपछि जापानले अमेरिकासमक्ष ‘कडा विरोध’ जनाएको छ। जापानले आइतबार अमेरिकी पक्षलाई औपचारिक रूपमा विरोध जनाउँदै घटनाको गम्भीरताबारे ध्यानाकर्षण गराएको हो।

ओकिनावा प्रिफेक्चरल प्रहरीले अमेरिकी मरीन कोरको फुतेंमा एयर स्टेसनमा कार्यरत २० वर्षीय डेभिन ज्याकोब बालार्डलाई हत्या तथा डकैतीको आरोपमा पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उहाँमाथि शनिबार बिहान नाहा सहरस्थित एक होटलमा स्थानीय महिलाको हत्या गरी उनको ब्याग र पर्स लुटेको आरोप छ।

प्रहरीका अनुसार मृतक नाहा निवासी ३९ वर्षीया अन्ना यागी हुनुहुन्छ। उहाँको शव नाहा सहरको वाकासा क्षेत्रमा रहेको होटलमा फेला परेको थियो। अनुसन्धानकर्ताका अनुसार शनिबार बिहान करिब २ः१० देखि ४ः१५ बजेको बीचमा घटना भएको आशंका गरिएको छ।

बालार्डले प्रहरीसमक्ष आफूविरुद्धको आरोप अस्वीकार गर्नुभएको छ। उहाँले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले घटनाको विस्तृत कारण, घटनाक्रम र मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार शनिबार राति ओकिनावा सहरको मनोरञ्जन क्षेत्रमा गस्तीमा रहेका प्रहरी अधिकारीहरूले होटलको सुरक्षा क्यामेरामा देखिएको व्यक्तिसँग मिल्दोजुल्दो व्यक्तिलाई फेला पारेपछि सोधपुछ गरेका थिए।

त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। जापानी प्रहरीले अमेरिकी सैन्य अनुसन्धान निकायसँग समेत समन्वय गरिरहेको जनाएको छ।

अमेरिकी सैन्य उपस्थितिबीच फेरि सुरक्षा चिन्ता

ओकिनावामा अमेरिकी सैन्य अड्डाको ठूलो उपस्थिति रहँदै आएको छ। फुतेंमा एयर स्टेसन पनि त्यहाँको प्रमुख अमेरिकी सैन्य प्रतिष्ठानमध्ये एक हो।

अमेरिकी सैन्य उपस्थितिका कारण ओकिनावामा सुरक्षा, अपराध र स्थानीय बासिन्दामाथिको प्रभावका विषय लामो समयदेखि विवाद र सार्वजनिक बहसको विषय बन्दै आएका छन्।

पछिल्लो घटनाले पनि अमेरिकी सैन्य कर्मचारीसँग सम्बन्धित अपराध र स्थानीय सुरक्षासम्बन्धी पुरानो चिन्तालाई पुनः सतहमा ल्याएको छ। घटनाको अनुसन्धान अघि बढिरहेका बेला जापान सरकारले अमेरिकी पक्षसँग कडा रूपमा चासो व्यक्त गरेको हो।

यसैबीच, ओकिनावाका नवनिर्वाचित गभर्नर गेन्ता कोजाले पनि अमेरिकी सैन्य गतिविधि र सुरक्षासम्बन्धी विषयमा स्थानीय बासिन्दाको बुझाइ र सहमति आवश्यक रहेको बताउँदै आउनुभएको छ। उहाँले क्षेत्रको सैन्य संरचना विस्तारलाई सर्तविहीन रूपमा स्वीकार गर्न नसकिने धारणा सार्वजनिक गर्नुभएको छ।

जापानी अधिकारीहरूले पक्राउ परेका अमेरिकी मरीनविरुद्धको अनुसन्धान कानुनी प्रक्रियाअनुसार अघि बढाइने बताएका छन्। घटनामा उनको संलग्नता, हत्या र लुटपाटको वास्तविक कारण तथा अन्य सम्भावित तथ्यबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

समाचार र तस्वीर स्रोत ‘द जापान टाइम्स’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.