जन सरोकार

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

असोज २५ गते आइतबार गोरखाकाृ चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत विहीन बनेका छन् ।

बाढीले सो पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो । बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो ।

जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । “बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,” उहाँले भन्नुभयो, “आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।” फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताउनुभयो ।

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउनुहुन्छ ।

“फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उहाँले भन्नुभयो, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।

बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उहाँले बताउनुभयो । “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उहाँले भन्नुभयो ।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत्विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.