कर्जा प्रवाहमा सुधार, अर्थतन्त्र चलायमान हुने अपेक्षा
लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह सुस्त हुँदा वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले तरलता खिच्दै आएको छ।
पछिल्लो समय भने कर्जा प्रवाहमा सुधार देखिएको छ। यसले लगानी र आर्थिक गतिविधि चलायमान हुने अपेक्षा बढाएको छ। यद्यपि, अर्थतन्त्रमा गति ल्याउन कर्जा विस्तारको दर अझै बढ्नुपर्ने र त्यसका लागि लगानीमैत्री वातावरण सुधार गर्नुपर्ने देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोड रुपैयाँले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
साउनसम्म यस्तो कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेको थियो। गत आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा भने भदौ मसान्तमा कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको छ।
क्षेत्रगत रूपमा खनिज, उत्पादन, निर्माण, सेवा तथा व्यापार क्षेत्रमा कर्जा प्रवाह बढेको छ। दुई महिनामा खनिज क्षेत्रमा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मतमा ७.३ प्रतिशत कर्जा विस्तार भएको छ।
निर्माण क्षेत्रमा ३.७ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत कर्जा बढेको छ। तर कृषि क्षेत्रमा २.२ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा ४.७ प्रतिशत कर्जा घटेको छ।
कर्जा प्रवाहमा देखिएको सुधारले आर्थिक गतिविधि विस्तार हुने सम्भावना बढाए पनि यसलाई पर्याप्त मान्न सकिँदैन। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन, निजी क्षेत्रको मनोबल उकास्न, लगानीसम्बन्धी नीतिगत तथा प्रशासनिक अवरोध हटाउन र व्यावसायिक वातावरण सुधार गर्न आवश्यक छ।
बैंकमा निक्षेप थुप्रिने तर उद्योग, व्यवसाय र उत्पादन क्षेत्रमा अपेक्षित कर्जा प्रवाह नहुने अवस्था अन्त्य गर्दै कर्जालाई उत्पादन, रोजगारी सिर्जना र आयवृद्धिसँग जोड्न सके मात्र अर्थतन्त्रले गति लिन सक्छ।




प्रतिक्रिया राख्नुहोस्