राजनीति

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई रास्वपाको आवेदन खुला

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ। पार्टीले असोज ३० गते बिहीबारदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत आवेदन लिन थालेको हो।

रास्वपाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ।

पार्टीले सूचनामा भनेको छ, “नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ। यदि तपाईं यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला।”

उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै उम्मेदवार छनोटको प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ।

रास्वपाले व्यक्तिविशेषको निर्णय वा तजबिजका आधारमा नभई विधिसम्मत प्रक्रियामार्फत योग्य र नागरिकप्रति प्रतिबद्ध उम्मेदवार चयन गर्ने नीति लिएको जनाएको छ।

पार्टी विधानको यही मान्यताअनुसार आसन्न स्थानीय तह निर्वाचनमा एउटै पदका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएको अवस्थामा उम्मेदवार छनोट गर्न स्पष्ट रूपरेखा तयार गरिएको उसको भनाइ छ।

विगतका अभ्यास र अनुभवबाट सिक्दै उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाउने प्रतिबद्धतासमेत पार्टीले व्यक्त गरेको छ।

यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न इच्छुकका लागि ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मार्फत आवेदन खुला गरेको थियो।

नगरपालिकाका लागि आवेदन खुला गरेसँगै पार्टीले स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकलाई आवेदन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.