राजनीति

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ ।

एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उहाँले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भन्नुभयो ।

उहाँले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले भन्नुभयो, “हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।”

उहाँले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिनुभयो ।

गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिनुभयो ।

उहाँले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गर्नुभयो । “नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ”, गृहमन्त्री गुरुङले भन्नुभयो ।

उहाँले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ । अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्य सम्पादन गर्नुहोला ।”

उहाँले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गत भदौ १० गते रसुवाको भोटेकोशी र त्यसपछि मनाङ, मुस्ताङ तथा बूढीगण्डकीको बाढीलगायतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा पनि अविचलित रही उद्धारमा खटिएर प्रहरीले देखाएको साहसको मैले उच्च मूल्याङ्कन गरेको छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.