आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ।
सोमबार अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा तीन चौका र चार छक्कासहित ६९ रन जोडे। ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए।
त्यस्तै, इशान पाण्डेले ६० बलमा दुई चौकासहित २९ रन बनाए। बासिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे। करण केसीले पाँच बलमा दुई चौकाको मद्दतमा नौ रन बनाए। गुलशन झाले चार बलमा एक चौकासहित पाँच रन बनाए।
आसिफ शेखले १३ बलमा एक चौकासहित सात रन बनाए। सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशीले क्रमशः एक, एक र एक बल सामना गर्दा रन बनाउन सकेनन्।
नेपालको सुरुआत राम्रो हुन सकेन। आसिफ शेख १९ रनको अवस्थामा पहिलो विकेटका रूपमा आउट भए। त्यसपछि इशान पाण्डे र देव खनालले इनिङ्स सम्हाल्ने प्रयास गरे। ८३ रनमा दोस्रो विकेट गुमाएको नेपालले ९९ रन पुग्दा देव खनाललाई पनि गुमायो।
त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे। यही साझेदारीले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाएको थियो।
तर दीपेन्द्र २३८ रनको अवस्थामा आउट भएपछि नेपालको मध्य तथा तल्लो क्रम टिक्न सकेन। नेपालले अन्तिम १२ रन जोड्दा चार विकेट गुमाएको थियो।
ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन दिएर पाँच विकेट लिए। जय ओडेड्राले १० ओभरमा ४४ रन दिएर तीन विकेट लिए। समय श्रीवास्तवले १० ओभरमा ६१ रन दिएर दुई विकेट लिए।
जतिन्दर र हम्मादको शतकनजिकको इनिङ्स
२८१ रनको लक्ष्य पछ्याएको ओमानले सुरुआतमै हम्माद मिर्जाको विकेट गुमाए पनि जतिन्दर सिंह र हम्माद मिर्जाले उत्कृष्ट साझेदारी गर्दै खेलमा पकड बनाएका थिए। जतिन्दरले ११४ बलमा सात चौका र एक छक्कासहित ८९ रन बनाए। हम्माद मिर्जाले ९७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ८७ रन जोडे।
दोस्रो विकेटका लागि उनीहरूले १५८ रनको साझेदारी गरेका थिए। १९० रनमा जतिन्दर आउट भएपछि नेपालले खेलमा फर्कने अवसर पायो। त्यसपछि हम्माद मिर्जा २०४ रनमा आउट भए भने मुजीबुर अली दुई रनपछि २०६ को स्कोरमा आउट भए।
ओमानका कप्तान विनायक शुक्ला १३ रन बनाएर २२४ रनको अवस्थामा आउट भए। सन्जु सजिव पाँच रनमा रनआउट भएपछि ओमान २३२ रनमा छैटौँ विकेट गुमाउने अवस्थामा पुग्यो।
त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानलाई जितको नजिक पुर्याउने प्रयास गरे। उनले २३ बलमा तीन चौका र दुई छक्कासहित अविजित ४० रन बनाए। तर अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा ओमान लक्ष्यबाट १० रनले टाढा रह्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ६० रन दिएर दुई विकेट लिए। ललित राजवंशीले आठ ओभरमा ५३ रन दिएर दुई विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ३७ रन दिएर एक विकेट लिए भने नन्दन यादवले १० ओभरमा ५५ रन दिएर एक विकेट लिए।
अन्तिम ओभरमा दीपेन्द्रको कसिलो बलिङ
खेलको निर्णायक क्षण अन्तिम ओभर बन्यो। ओमानलाई जितका लागि अन्तिम ओभरमा २३ रन आवश्यक थियो। बलिङमा आएका दीपेन्द्रसिंह ऐरीले दबाबका बीच कसिलो बलिङ गरे।
पहिलो बलमा हस्नैन शाहले दुई रन लिए। त्यसपछि लगातार दुई चौका प्रहार गर्दै उनले ओमानलाई खेलमा फर्काउने प्रयास गरे। तीन बलपछि ओमानलाई तीन बलमा १३ रन आवश्यक थियो। त्यसपछि दुई रन जोडिएपछि अन्तिम दुई बलमा ११ रन चाहिएको थियो।
दीपेन्द्रले पाँचौँ बलमा रन दिएनन्। अन्तिम बलमा पनि हस्नैनले रन लिन नसकेपछि नेपालले रोमाञ्चक जित हासिल गर्यो।
ब्याटिङमा ६९ रन र बलिङमा दुई विकेट लिएका दीपेन्द्रसिंह ऐरी खेलका निर्णायक खेलाडी बने। उनको अलराउन्ड प्रदर्शनले नेपाललाई लिग–२ को अन्तिम खेलमा महत्त्वपूर्ण जित दिलायो।
जितसँगै नेपाल छैटौँ स्थानमा
लिग–२ को अंकतालिकामा शीर्ष छभित्र पर्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। सुरुआती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि अंकतालिकामा सातौँ स्थानमा झरेको थियो।
क्यानडाले नेपाललाई हराएपछि ३६ खेलमा २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो। ३५ खेलबाट २८ अंक रहेको नेपाल सातौँ स्थानमा पुगेको थियो। ओमानविरुद्धको जितसँगै नेपालले ३६ खेलमा ३० अंक जोडेर छैटौँ स्थान पक्का गरेको छ।
लिग–२ को शीर्ष छ टोलीमा रहनु नेपालका लागि महत्त्वपूर्ण थियो। यसले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने सम्भावनालाई बलियो बनाएको छ। कठिन परिस्थितिमा ओमानलाई उसकै मैदानमा हराउँदै नेपालले प्रतियोगिताको अन्त्य जितसँगै गरेको छ।




प्रतिक्रिया राख्नुहोस्