विजयादशमीले अहंकार, लोभ, इष्र्या, हिंसा जस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिन्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले अहंकार, लोभ, इष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिनुका साथै भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ ।
विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गर्नुभयो ।
उहाँले यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ । इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ ।”
विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजयप्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन हो । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको मानिन्छ ।
साथै आजकै दिन भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने शुभकामना सन्देशमा उल्लेख छ ।
“विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ । आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ”, उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, इष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिनेसमेत उल्लेख गर्दै सबैलाई आ–आफ्नो ठाउँबाट क्षमताअनुसार विजयादशमी मनाउन सद्भाव, एकता, सम्मान र माया आपसमा साट्न आग्रह पनि गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्