प्रबासबिशेष

साउदी अरेबियामा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा निन्दा

साउदी अरेबियाको सेबा आयल फिल्डमा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेषका कारण एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा एक फिलिपिनो नागरिकको पनि ज्यान गएको छ भने भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।

बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणका क्रममा उक्त घटना भएको हो। साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो।

तर, त्यसको भग्नावशेष खस्दा आयल फिल्ड परिसरबाहिर रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो। सोही घटनामा परी दुई विदेशी कामदारको मृत्यु भएको हो।

घटनाप्रति नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ। मन्त्रालयले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा भर्त्सना गरेको छ। नेपालले आफ्नो सैद्धान्तिक अडान दोहोर्‍याउँदै विवादहरूको समाधान संवाद, वार्ता र कूटनीतिक पहललगायत शान्तिपूर्ण माध्यमबाट खोज्न आह्वान गरेको छ।

पछिल्ला केही हप्तायता यमनका इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.