राजनीति

चितवनलाई देशकै नमूना जिल्ला बनाइने : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले चितवनलाई देशकै नमूना जिल्ला बनाइने बताउनुभएको छ ।

उहाँले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी चितवनलाई देशकै नमूना जिल्ला बनाइने बताउनुभएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय, चितवनमा भूमिसम्बन्धी समस्या तथा सुकुमवासी व्यवस्थापनका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण र समस्याबारे आयोजित छलफल कार्यक्रममा मन्त्री रावलले भन्नुभयो, “सबै ठाउँमा समस्या समाधान गर्न हामी तत्पर छौँ । म सबै जिल्लामा पनि जान्छु, तर चितवन विशेष हो । चितवन जिल्लामा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान अरू जिल्लाका लागि नमूना हुनुपर्छ भन्ने मेरो भनाइ हो ।”

उहाँले कामको सुरुवात भइसकेको बताउँदै अब दोस्रो फेज अर्थात् तीव्र गति (स्पीड अप) दिने चरणमा लैजाने बताउनुभयो । उहाँले थप्नुभयो, “चितवनमा इच्छाकामना गाउँपालिकालगायत अन्य क्षेत्रको तयारी देख्दा खुसी लागेको छ, तर यतिले मात्र पर्याप्त हुँदैन ।”

मन्त्री रावलले कानुनी जटिलता अध्यादेशमार्फत सम्बोधन भइसकेको उल्लेख गर्दै प्रशासनिक तथा प्राविधिक काममा ढिलाइ नगर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता भनेको भूमिहीन दलित र सुकुमवासी नै हुन् । यसलाई व्यवस्थित गर्दै लैजान राजनीतिक र प्रशासनिक रूपमा के–कस्ता गाँठाहरू फुकाउनुपर्छ, त्यसका लागि म आफैँ स्थानीय तहमै पुगेर सहजीकरण गर्न तयार छु ।”

“काम रोकिनु भएन, सङ्घको तर्फबाट आवश्यक समन्वय र सहयोगका लागि हामी तयार छौँ । चितवनका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधि यस विषयमा सक्रिय हुनुहुन्छ । त्यसैले चितवनलाई छिटोभन्दा छिटो सुकुम्बासीमुक्त घोषणा गर्ने गरी काम अघि बढाऔँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं चितवन क्षेत्र नं. १ का सांसद हरि ढकाल, सांसद प्रभा ढकाल र समिना मियाँलगायतको सहभागिता थियो ।

सो अवसरमा भूमि समस्या समाधान आयोगका अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालाले सुकुमवासी समस्या समाधानका क्रममा भोग्नुपरेका व्यावहारिक, प्राविधिक तथा राजनीतिक कठिनाइबारे मन्त्री रावललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.