स्वास्थ्य

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ ।

कुल १५ शय्याको हेलम्बु प्राथमिक अस्पताल, पाँचवटा स्वास्थ्यचौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सामुदायिक स्वास्थ्य एकाइ रहेको हेलम्बुमा सेवाग्राहीले कुनै पनि शीर्षकमा पैसा तिर्नुनपर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

“दुई महिना अघिदेखि सञ्चालनमा आएको १५ शय्याको हेलम्बु प्राथमिक अस्पतालमा हामीले सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आएका छौँ,” गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, “अस्पतालमा अहिले चिकित्सकसहित आधुनिक प्रयोगशाला सेवा उपलब्ध गराइएको छ । अब सामान्य स्वास्थ्य उपचार तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुँदै गएको छ ।”

बहिरङ्ग सेवासहित २४ सै घण्टा अत्यावश्यक सेवा प्रदान गर्दै आएको अस्पतालले पालिकाभरका नागरिकको लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

“हामीले बहिरङ्ग सेवा, नियमित सेवा, अत्यावश्यक सेवा, तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आँखाको नियमित जाँच एवम् उपचार सेवाका साथै नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक सेवा प्रदान गर्दै आएका छौँ,” अस्पतालका प्रमुख डा अनाम प्याकुरेलले भन्नुभयो, “सबै सेवा पालिकावासीका लागि पूर्ण रुपमा निःशुल्क छ ।”

“स्वस्थ्य हेलम्बु, समृद्ध हेलम्बु नारासहित हामीले सुत्केरी आमालाई पोषण खर्च छुट्टै रु तीन हजार ८०० दिने गरेका छौँ । केन्द्र सरकारले रु तीन हजार दिन्छ । जम्मा गरी रु छ हजार ८०० सुत्केरी आमाले प्राप्त गर्नुहुन्छ,” शेर्पाले भन्नुभयो ।

गाउँपालिकाले बालबालिकालाई विशेष ‘प्याकेज’ बनाएको स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिले जानकारी दिनुभयो । पालिकाले दीर्घरोगीलाई निःशुल्क स्वास्थ्योपचार र औषधि उपलब्ध गराउने गरेको छ । हेलम्बुका बिरामीलाई थप उपचार गर्न अन्यत्र जानुपर्दा एम्बुलेन्स सेवा निःशुल्क गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.