आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको जुरेढुङ्गा ओझेलमा
आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका–१ मा अवस्थित समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक किंवदन्तीले भरिपूर्ण छ ।
जुरेढुङ्गाको पुछारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ, जहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पाच्र्याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली र सातधारे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँबाट छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानीलगायतका डाँडाकाँडा स्पष्ट नियाल्न सकिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गा वरपर थुप्रै खर्क र आकर्षक स्थलहरू छन् ।
चैत–वैशाखमा ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्ने गर्छन् । जैविक विविधतायुक्त यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातोहाब्रे)को समेत वासस्थान छ । यहाँ ठूला–ठूला गुराँस, खस्रु र गोब्रेसल्लाका रुखहरू रहेकाले जङ्गलको मनोरम आनन्द लिन सकिन्छ ।
उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासबारे नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पालिकाका तर्फबाट विभिन्न प्रयास भइरहेको बताउनुभयो ।
जुरेढुङ्गा प्राकृतिक र सांस्कृतिक रूपमा निकै महत्त्वपूर्णस्थल हो । यस क्षेत्रमा सडक सञ्जालको सहज पहुँच पु¥याउन र पर्यटन प्रवर्द्धनका लागि पालिकाबाट योजनाबद्ध रूपमा प्रयासहरू भइरहेका छन् ।
यसैगरी, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा आन्तरिक तथा बाह्य पर्यटन दुवैका लागि हाइकिङ (पदमार्ग)को उत्कृष्ट सम्भावना भएको ठाउँ रहेको बताउनुभयो ।
पर्यटकीय विकासका लागि समाजले चालेको कदमबारे उल्लेख गर्दै अध्यक्ष न्यौपानेले जुरेढुङ्गा र आसपासका क्षेत्रलाई हाइकिङ गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसारलाई व्यापक बनाउन समाजले विशेष पहल सुरु गरेको छ ।
यहाँको तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य, चौँरी एवं भेडाका खर्कहरू र कृषि तथा तरकारी फर्महरू यहाँका थप आकर्षण हुन् । रसुवा, नुवाकोट र काठमाडौँबाट छोटो बिदा मिलाएर यहाँको यात्रा सजिलै तय गर्न सकिन्छ ।
जुरेढुङ्गा पुग्नका लागि विभिन्न यातायातका मार्ग प्रयोग गर्न सकिन्छ । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ ।
कालिकास्थान घुम्तीबाट जिवजिवे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ भएर पनि यात्रा तय गर्न सकिन्छ ।
नुवाकोटको विदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पाच्र्याङ, लाङ्बु (बिजिली जोङ) भएर तथा बेत्रावतीबाट नौकुण्ड गाउँपालिकाको पाच्र्याङ पुगेर पर्यटकीयस्थलमा पुग्न सकिने स्थानीयले जनाएका छन् । (रासस)




प्रतिक्रिया राख्नुहोस्