बिशेषराजनीति

नेपाली गेम विश्व बजारमा, युनिकर्न बनाउने सरकारको लक्ष्य

नेपाली युवाले विकास गरेका सूचना प्रविधि उत्पादन र गेमिङ एपले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाइरहेका बेला सरकारले यस क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज बनाउँदै नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्ने वातावरण तयार गरिने बताउनुभएको छ।

नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि उद्योगको सम्भावना बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रका कम्पनीले भोगिरहेका समस्या समाधान गर्न आवश्यक नियम र वातावरण पुनरावलोकन गरिने जानकारी दिनुभएको हो।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत गेमको कभर फोटो राखेर उहाँले गेम डेभलपमेन्ट क्षेत्रका प्रतिनिधिसँग छलफल गरी उनीहरूका समस्या र सम्भावनाबारे जानकारी लिइएको र त्यसका आधारमा उद्योगलाई सहज रूपमा अघि बढाउन आवश्यक सुधारको गृहकार्य सुरु गरिएको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले नेपालीले विकास गरेका गेमिङ एपले विश्व बजारमा उल्लेख्य सफलता पाएको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार विश्वभर लोकप्रिय लुडो गेम करिब २० करोड पटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। यी गेम नेपाली कम्पनीले विकास गरेका हुन्।

गेमिङ एप निर्माणमा सयौँ युवा सक्रिय रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई प्रोत्साहन गर्न सके नेपालबाटै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कम्पनी विकास गर्न सकिने बताउनुभएको छ।

“हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्‍यौँ। अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ,” प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

सूचना प्रविधिसम्बन्धी उत्पादन र सेवा निर्यातको अवस्था पनि सकारात्मक रहेको प्रधानमन्त्रीको भनाइ छ। यस क्षेत्रका दक्ष जनशक्ति र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा कमाएको रकम पुनः लगानी गर्न सक्ने वातावरण बनाउन कर प्रणाली र नीतिगत व्यवस्थामा सुधार गरिने उहाँले उल्लेख गर्नुभएको छ।

विशेष गरी अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने आम्दानीसँग सम्बन्धित नियमलाई थप सहज बनाउने सरकारको तयारी छ। नेपाली कम्पनीले विदेशमा सेवा तथा उत्पादन बिक्री गर्दा भोग्नुपर्ने प्रक्रियागत जटिलता कम गर्न सके प्रतिस्पर्धात्मक क्षमता बढ्ने सरकारको बुझाइ रहेको प्रधानमन्त्रीको भनाइबाट देखिन्छ।

यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट र ह्याकाथोनजस्ता कार्यक्रमलाई प्रोत्साहन गरिने भएको छ। सूचना प्रविधि क्षेत्रका उद्यमी तथा सरोकारवालासँग राष्ट्र बैंक र अर्थ मन्त्रालयको नियमित अन्तरक्रिया गराउने र गेमिङ तथा समग्र आइटी उत्पादन उद्योगलाई सहयोग पुग्ने गरी आवश्यक इकोसिस्टम निर्माणमा लगानी गर्ने प्रधानमन्त्री शाहले बताउनुभएको छ।

सरकारको यो पहल कार्यान्वयनमा आए नेपाली युवाले विकास गरेका डिजिटल उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न, नयाँ कम्पनी स्थापना गर्न र सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.