सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ ।
आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत सङ्कलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो ।
सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत सङ्कलन गरिएको हो ।
“सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ ।”
पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत सङ्कलनका लागि छलफल गरिएको उहाँले बताउनुभयो ।
आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । हालसम्म पूर्वाधार निर्माणमा करिब रु २४ अर्ब खर्च भएको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्