अमेरिकाका विभिन्न राज्यमा आकस्मिक बाढी, बस्ती खाली गराउने आदेश
अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। एरिजोना र कोलोराडोसहित विभिन्न राज्यका बस्तीमा आकस्मिक बाढी आएपछि स्थानीय प्रशासनले अनिवार्य रूपमा सुरक्षित स्थानमा सर्न आदेश दिएको छ।
कोलोराडोको पागोसा स्प्रिङ्समा सान हुआन नदीको सतह सन् १९११ को विनाशकारी बाढीको रेकर्डभन्दा माथि पुग्न सक्ने चेतावनी दिइएको छ।
कोलोराडोको पागोसा स्प्रिङ्समा सान हुआन नदीको सतह आइतबार राति २१.९ फिट (करिब ६.७ मिटर) सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको थियो। सन् १९११ मा आएको विनाशकारी बाढीका बेला नदीको सतह १७.८ फिट पुगेको थियो।
यसपटकको सम्भावित सतह उक्त रेकर्डभन्दा करिब चार फिट बढी हो। आइतबार साँझसम्म नदीको सतह करिब १४ फिट पुगेको र बाढीको जोखिम बढेपछि सहर प्रवेश गर्ने सडक बन्द गरिएको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।
नदी किनार र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ। सान हुआनसँगै रियो ब्लान्को, नाभाजो र पिएड्रा नदी आसपासका जोखिमयुक्त क्षेत्रबाट पनि बासिन्दालाई हटाइएको छ।
बाढीको जोखिम बढ्दै गएपछि उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न कठिन हुन सक्ने प्रशासनले चेतावनी दिएको छ। पागोसा स्प्रिङ्समा सोमबार सरकारी कार्यालय बन्द गरिएका छन् भने सडक आवागमनमा समेत प्रतिबन्ध लगाइएको छ।
यसअघि भारी वर्षापछि गत साता पनि पागोसा स्प्रिङ्स क्षेत्रमा ठूलो बाढी आएको थियो। त्यसबाट सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो।
जमिन पहिले नै पानीले संतृप्त भएकाले पछिल्लो वर्षाको पानी जमिनमा सोसिन नसकी नदी तथा खोलामा तीव्र गतिमा बग्दा बाढीको जोखिम थप बढेको मौसमविद्हरूले बताएका छन्। सोमबार पनि वर्षा जारी रहन सक्ने र बाढीको प्रभाव कायम रहने पूर्वानुमान छ।
एरिजोनाको पर्यटकीय सहर सेडोनामा ओक क्रिक आसपासका बस्ती खाली गराउन आदेश दिइएको छ। नदीको पानी तीव्र गतिमा बढेपछि घरभित्रै फसेका स्थानीयलाई उद्धारकर्मीले सुरक्षित स्थानमा पुर्याएका छन्।
उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। याभापाई काउन्टीका अधिकारीका अनुसार करिब २० घरका बासिन्दालाई आपत्कालीन सहयोग आवश्यक परेको थियो। सेडोना क्षेत्रमा उद्धारका क्रममा घाइते वा मृत्यु भएको विवरण प्राप्त नभएको एपीले जनाएको छ।
सेडोनासँगै एरिजोनाका क्याम्प भेर्दे, याभापाई र गिला काउन्टीका केही बस्तीमा पनि अनिवार्य रूपमा सुरक्षित स्थानमा जान आदेश जारी गरिएको छ।
गिला काउन्टीको टोन्तो क्रिक आसपासको गिसेला बस्ती पूर्ण रूपमा खाली गराउन निर्देशन दिइएको थियो। टक्सन क्षेत्रमा पनि बाढीका कारण सडकमा सवारीसाधन फसेका थिए भने उद्धार टोलीले पानीमा फसेका व्यक्तिको उद्धार गरेको थियो।
एरिजोनाको फ्ल्यागस्टाफमा निरन्तर वर्षाका कारण सडक र ढल निकास प्रणाली प्रभावित भएका छन्। बाढीको पानी घर तथा भवनमा पसेको छ।
बाढीको तीव्र बहावमा चिप्लिएर खसेका एक व्यक्ति बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मध्य एरिजोनाको पाइनटप–लेकसाइड क्षेत्रमा ढलका म्यानहोलका ढकनी उछिट्टिएर घरभित्र फोहोर पानी पस्ने समस्या देखिएको छ।
बाढीका कारण एरिजोनाका विभिन्न राजमार्गसमेत बन्द गरिएका छन्। सेडोना र फ्ल्यागस्टाफ आसपासका सडकमा आवागमन प्रभावित भएको छ।
कोलोराडोको पागोसा स्प्रिङ्स र आसपासका क्षेत्रमा पनि सडक बन्द तथा सवारी प्रवेशमा रोक लगाइएको छ। छिमेकी डुराङ्गोमा एनिमास नदीको सतह तीव्र रूपमा बढेपछि बस्ती खाली गराउने आदेश जारी गरिएको छ।
शनिबार साँझदेखि सुरु भएको वर्षा सोमबारसम्म जारी रहने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाले दक्षिणपश्चिमी क्षेत्रमा चार इन्च (करिब १० सेन्टिमिटर) सम्म वर्षा हुन सक्ने चेतावनी दिएको छ।
प्रशान्त महासागरबाट आएका लगातारका मौसमी प्रणालीका कारण वर्षा भइरहेको हो। यसअघि नै भिजिसकेको जमिनमा थप वर्षा हुँदा नदी, खोला र सामान्यतया सुक्खा रहने खोल्सामा समेत आकस्मिक बाढी आउन सक्ने जोखिम छ।
राष्ट्रिय मौसम सेवाले एरिजोनाको अधिकांश भूभागसँगै दक्षिणी युटा, दक्षिणपश्चिमी कोलोराडो, पश्चिमी न्यू मेक्सिको र दक्षिणी नेभाडाका केही क्षेत्रमा बाढीसम्बन्धी चेतावनी जारी गरेको छ। एरिजोना, कोलोराडो, न्यू मेक्सिको र युटाको सीमा जोडिने ‘फोर कर्नर्स’ क्षेत्र पनि जोखिममा परेको छ।
अधिकारीहरूले बाढी आएको सडक वा खोल्सो पार गर्ने प्रयास नगर्न, नदी तथा खोलाको किनारबाट टाढा रहन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
बाढीको पानीले सवारीसाधनसमेत बगाउन सक्ने भएकाले सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न भनिएको छ।




प्रतिक्रिया राख्नुहोस्