अरब दलको बढ्दो शक्तिले इजरायलका अति दक्षिणपन्थी चिन्तित
तेल अभिभ । इजरायलको बहिर्गमन हुँदै गरेको सरकारमा रहेर अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका अति दक्षिणपन्थी नेता इतामार बेन–गभिरले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न सकेनन्। तर, उनका समर्थकहरू भने उनी फेरि सत्ताको केन्द्रमा रहने आशा व्यक्त गरिरहेका छन्।
गाजापट्टीको सीमाबाट धेरै टाढा नरहेको दक्षिणी इजरायली सहर सेदेरोतमा चर्को घामका बीच बेकरीमा काम गर्ने याकोभ पेरेत्जले बेन–गभिर इजरायली राजनीतिमा प्रभावशाली शक्तिका रूपमा कायम रहने विश्वास व्यक्त गरे।
चुरोट पिउनका लागि कामबाट केही समय विश्राम लिएका पेरेत्जले एएफपीसँग भने, “प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो छेउमा बलियो र स्थिर दक्षिणपन्थी विचारधारा भएको बेन–गभिर आवश्यक छ।”
नेतान्याहुको नेतृत्वमा वर्षौंदेखि इजरायली मतदाता दक्षिणपन्थीतर्फ झुक्दै आएका थिए। त्यसैले बेन–गभिरको ‘ज्युइस पावर’ र बेजालेल स्मोट्रिचको ‘रिलिजियस जियोनिज्म’ जस्ता अति दक्षिणपन्थी दलले गत साता भएको निर्वाचनमा ऐतिहासिक उपलब्धि हासिल गर्ने अपेक्षा गरेका थिए।
तर, निर्वाचनको परिणाम आउँदा ती दुई दलले अघिल्लो निर्वाचनकै बराबर सिट प्राप्त गरे। दुवै दलले मिलेर १३ सिट जिते। यो परिणाम उनीहरूलाई राजनीतिक रूपमा थप शक्तिशाली बनाउने गरी पर्याप्त नभए पनि इजरायली राजनीतिक परिदृश्यमा आफ्नो स्थान कायम राख्न भने पर्याप्त थियो।
मुख्यधारका दक्षिणपन्थी नेताहरूले लामो समयदेखि अस्वीकार्य र विवादास्पद व्यक्तिका रूपमा हेर्दै आएका बेन–गभिर युवावस्थामा जातीय घृणा फैलाएको लगायतका आरोपमा दोषी ठहर भएका थिए। त्यसका बाबजुद उनी नेतान्याहुको सरकारमा राष्ट्रिय सुरक्षा मन्त्री बनेका थिए।
वित्तमन्त्री स्मोट्रिचसँगै उनी बहिर्गमन हुँदै गरेको गठबन्धन सरकारको सबैभन्दा कट्टरपन्थी धारको प्रतिनिधित्व गर्थे।
बेन–गभिरले गाजापट्टी र पश्चिम किनारबाट प्यालेस्टिनीहरूको ‘स्वैच्छिक’ पलायन गराउनुपर्ने, गाजामा प्रत्येक रात नियमित रूपमा ‘३० देखि ४० जना’ मानिस मारिनुपर्ने तथा प्यालेस्टिनी बन्दीहरूलाई दिइने खाद्यान्न र सरसफाइका सुविधालाई न्यूनतम स्तरमा झार्नुपर्ने अभिव्यक्ति दिएका थिए।
सत्तामा आफ्नो प्रभावको आनन्द लिइरहेका उनले निर्वाचनअघि आफू रक्षामन्त्री बन्न चाहेको कुरा पनि खुलेर बताएका थिए।
तर, पछिल्ला चार वर्षमा अभूतपूर्व राजनीतिक प्रभाव जमाएको अति दक्षिणपन्थी समूह अब फेरि सत्ताको किनारामा पुग्ने सम्भावना बढेको छ। मुख्यधारका दलहरू नयाँ सरकार गठनका लागि छलफल र मोलमोलाइमा जुट्दा उनीहरू बाहिरै बस्नुपर्ने अवस्था आउन सक्छ।
अक्टोबर २७ मा भएको निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको थियो। उक्त गठबन्धनमा बेन–गभिर र स्मोट्रिचका दल पनि छन्। तर, सरकारमा कायम रहन आवश्यक ६१ सिटभन्दा यो आठ सिट कम हो।
पूर्वसेना प्रमुख गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी खेमाले ४८ सिट प्राप्त गरेको छ। यद्यपि, विपक्षीले अभूतपूर्व रूपमा १९ सिट जितेका अरब–इजरायली दलहरूसँग सहकार्य गर्ने निर्णय गरेमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्छ। यस्तो सम्भावना अति दक्षिणपन्थी समूहका लागि सबैभन्दा चिन्ताजनक अवस्था हुनेछ।
प्रभाव घट्ने चिन्ता, मत बढेको दाबी
तेल अभिभ विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक याएल शोमरका अनुसार निर्वाचनले अति दक्षिणपन्थी समूहको राजनीतिक अवस्थाबारे विरोधाभासपूर्ण परिणाम देखाएको छ। मतदाताबीच उनीहरूको समर्थन बढे पनि नयाँ सरकारमा उनीहरूको प्रभाव भने घट्ने सम्भावना छ।
उनको गणनाअनुसार अति दक्षिणपन्थी दलहरूले सन् २०२२ को निर्वाचनको तुलनामा यसपटक करिब एक लाख बढी मत प्राप्त गरेका छन्। तर, यस वर्षको निर्वाचनमा सन् १९९९ यताकै सबैभन्दा बढी मतदान भएको थियो।
उनले भनिन्, “यो परिणाम असफलता त होइन, तर उनीहरू र उनीहरूका समर्थकका लागि निराशाजनक देखिन्छ।”
अति दक्षिणपन्थी समूहको कठोर सुरक्षा नीति र प्रायः स्पष्ट रूपमा प्यालेस्टिनीविरोधी अभिव्यक्तिले सेदेरोतमा समर्थन पाएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा उक्त सहरका ५३ जनाको मृत्यु भएको थियो।
पेरेत्जले त्यस दिन सडकमा भएको आक्रमणमा अग्निनियन्त्रकका रूपमा कार्यरत आफ्ना एक आफन्त गुमाएका थिए। उनले भने, “हाम्रो भएको कुराको रक्षा गर्न कट्टरपन्थी धारणा आवश्यक छ भन्ने मेरो विश्वास त्यस घटनाले अझ बलियो बनायो।”
अति दक्षिणपन्थी दललाई बाहिर राखेर नयाँ गठबन्धन बन्न सक्ने सम्भावनाले उनलाई चिन्तित बनाएको छ। नेतान्याहु र आइजेनकोटबीच राष्ट्रिय एकताको सरकार बने पनि त्यसमा अरब–इजरायली र वामपन्थी दलहरूलाई समावेश नगर्ने सम्भावनाले समेत उनलाई सन्तुष्ट बनाउन सकेको छैन।
पेरेत्जले भने, “यो वास्तविक चिन्ताको विषय हो। तर, नेतान्याहुले हामी सबैका लागि सही निर्णय गर्नुहुनेछ भन्ने आशा गरेका छौँ।”
सेदेरोत बजारका मसलाका पसलहरूबीच भेटिएकी ६७ वर्षीया सुसान बुस्किलाले नेतान्याहुको लिकुड पार्टीलाई मत दिएको बताइन्। उनका छोराछोरीले भने बेन–गभिर र स्मोट्रिचलाई समर्थन गरेका थिए। उनी दुवै नेता सरकारमा कायम रहेको देख्न चाहन्छिन्।
उनले भनिन्, “उनीहरूले यो देशलाई माया गर्ने धार्मिक जियोनिस्ट युवाको प्रतिनिधित्व गर्छन्। राजनीतिक पद, पैसा र चर्चामा मात्र रमाउनेहरूको होइन।”
अरब दलको प्रभाव बढ्ने डर
अरब–इजरायली दलहरूले निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेपछि अति दक्षिणपन्थी समर्थकहरूमा चिन्ता बढेको छ। नेतान्याहु र उनका सहयोगीहरूले ती दललाई आन्तरिक शत्रुका रूपमा चित्रण गर्दै आएका छन्।
बुस्किला पूर्वसेना प्रमुख आइजेनकोट र अरब दलबीच गठबन्धन बन्न सक्ने सम्भावनाप्रति चिन्तित छिन्। यस्तो गठबन्धन बनेमा गाजामा इजरायली सेनाको नियन्त्रण खुकुलो हुने र सेदेरोतमा हमासले फेरि रकेट आक्रमण सुरु गर्न सक्ने उनको आशंका छ।
उनले भनिन्, “हामीले यहाँ पर्याप्त दुःख भोगिसकेका छौँ।” बेन–गभिरलाई मत दिएका ४३ वर्षीय पसल सञ्चालक शाहर याकोभले पनि निर्वाचन परिणामप्रति गम्भीर निराशा व्यक्त गरे।
उनका लागि आइजेनकोट नेतृत्वको सम्भावित सरकारमा अरब दलहरूको भूमिका रहने अवस्था “सबैभन्दा खराब सम्भावित परिस्थिति” हो। यति हुँदाहुँदै पनि अति दक्षिणपन्थी दललाई बाहिर राखेर राष्ट्रिय एकताको सरकार बन्ने विकल्पलाई उनी त्यसको तुलनामा राम्रो मान्छन्।
उनले भने, “यो देशमा अब एकताको समय आएको छ। त्यो हुनैपर्छ। प्यालेस्टिनी वा अरब देशहरूसँगको शान्तिबारे कुरा गर्नुअघि हामीबीच नै शान्ति आवश्यक छ।” (रासस/एएफपी)




प्रतिक्रिया राख्नुहोस्