क्रिकेटखेल

एनपिएलमा पोखराको लगातार तेस्रो हार, लुम्बिनी आठ विकेटले विजयी

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लगातार तेस्रो हार व्यहोरेको छ । मंगलबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पोखरा ८ विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पही ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि चमिका करुणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले तीन विकेट लिए भने तिलक भण्डारीले दुई विकेट लिँदा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलको भागमा समान १-१ विकेट रह्यो । पोखराले दिएको ९८ रनको सामन्य लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले ११ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४७ रन बनाए भने निरोशान डिकवेलाले २८ बल २ चौका र १ छक्काको सहयोगमा २७ रनमा नट आउट रहे ।

यी दुईले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । यस्तै ओपनर डार्शी सर्टले १३ रन जोड्दा आसिफ शेखले ९ रन बनाए । पोखराका लागि बिपिन खत्रीले एक विकेट लिए ।

जितसंगै जारी संस्करणमा अहिलेसम्म लुम्बिनी लायन्स तीन खेलमध्ये दुईमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँड्दै पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने जितविहीन पोखरा पुछारमा रहेको छ । यसअघि मंगलबारै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.