जन सरोकार

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

जीविकोपार्जन पुनस्र्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा सम्बन्धित क्षेत्रका विज्ञबाट बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

आयोजनाले प्रभावित परिवारको जीविकोपार्जन पुनस्र्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।

ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन् । आयोजनाबाट इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायत विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिसकेको छ ।

आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजनाअनुरूप प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.