प्रबासबिशेष

अमेरिकाका तीन राज्यको संसद्मा नेपाली मूलका तीन उम्मेदवार निर्वाचित

अमेरिकामा सम्पन्न निर्वाचनमा नेपाली मूलका तीन उम्मेदवार मेरिल्यान्ड, न्यूयोर्क र न्यू ह्याम्पसायर राज्यको संसद्मा निर्वाचित हुनुभएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट उहाँहरू निर्वाचित भएसँगै अमेरिकाको राजनीतिमा नेपाली आप्रवासी समुदायको उपस्थिति थप बलियो बनेको छ।

निर्वाचित हुनेमा मेरिल्यान्ड राज्यबाट ह्यारी भण्डारी, न्यूयोर्कबाट सरहाना श्रेष्ठ र न्यू ह्याम्पसायरबाट विश्वबहादुर शाह हुनुहुन्छ। उहाँहरूको विजयलाई अमेरिकामा तीव्र गतिमा विस्तार भइरहेको नेपाली मूलको समुदायको राजनीतिक प्रभाव र सहभागिताको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

मेरिल्यान्ड : ह्यारी भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित
मेरिल्यान्ड राज्यको बाल्टिमोर काउन्टीस्थित डिस्ट्रिक्ट ८ बाट डेमोक्र्याटिक पार्टीका उम्मेदवार डा. ह्यारी भण्डारी तेस्रो कार्यकालका लागि राज्य संसद् हाउस अफ डेलिगेट्समा निर्वाचित हुनुभएको छ।

निर्वाचनका सबै ३६ मतदान केन्द्रको नतिजा सार्वजनिक हुँदा उहाँले १९ हजार ५३० मत अर्थात् कुल मतको २२.३४ प्रतिशत प्राप्त गर्नुभयो। तीन सदस्य निर्वाचित हुने उक्त निर्वाचन क्षेत्रमा उहाँ दोस्रो स्थानमा रहनुभयो।

सोही क्षेत्रबाट डेमोक्र्याटिक पार्टीका निक एलन १९ हजार ८६० मतसहित पहिलो र किम एल रोस १९ हजार ३४८ मतसहित तेस्रो हुनुभयो। रिपब्लिकन पार्टीका उम्मेदवारहरू भने तीनै जना डेमोक्र्याटिक उम्मेदवारभन्दा पछि परेका छन्।

सन् २००५ मा नेपालबाट अमेरिका पुग्नुभएका भण्डारीले राजनीतिमा प्रवेश गर्नुअघि ग्यास स्टेसनमा रातको समयमा काम गर्नुभएको थियो। पछि उहाँ कलेजमा अङ्ग्रेजी विषयको अध्यापक बन्नुभयो। सन् २०१८ मा पहिलोपटक मेरिल्यान्डको राज्य संसद्मा निर्वाचित हुनुभएका उहाँ अमेरिकाको कुनै राज्यको संसद्मा निर्वाचित हुने पहिलो नेपाली मूलका व्यक्ति हुनुहुन्छ।

उहाँले प्राप्त गर्ने मतको प्रतिशत पनि प्रत्येक निर्वाचनमा बढ्दै गएको छ। सन् २०१८ मा १७.७ प्रतिशत, सन् २०२२ मा २१.६ प्रतिशत र यसपटक २२.३४ प्रतिशत मत प्राप्त गर्नुभएको हो।

निर्वाचनमा विजयी भएपछि भण्डारीले आफ्नो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेपाली समुदायको शक्ति, आप्रवासीको योगदान र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताउनुभएको छ। उहाँले आफ्नो विजयका लागि सहयोग गर्ने स्वयंसेवक, परिवारका सदस्य र नेपाली अमेरिकी समुदायप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार बाल्टिमोर क्षेत्रमा नेपाली समुदायका आवश्यकताका लागि राज्यको बजेटबाट नौ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराउन पहल गर्नुभएको छ। त्यस्तै, आफ्नो निर्वाचन क्षेत्रका लागि समग्रमा १५ करोड अमेरिकी डलरभन्दा बढी बजेट सुनिश्चित गर्न योगदान पुर्‍याउनुभएको छ।

न्यूयोर्क : सरहाना श्रेष्ठ तेस्रो कार्यकालका लागि विजयी
न्यूयोर्क राज्यको १०३औँ एसेम्ब्ली डिस्ट्रिक्टबाट डेमोक्र्याटिक पार्टी तथा डेमोक्र्याटिक सोसलिस्ट विचारधाराकी उम्मेदवार सरहाना श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।

अनौपचारिक नतिजाअनुसार उहाँले रिपब्लिकन पार्टीका प्रतिस्पर्धी सान्तोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। श्रेष्ठले ३८ हजार ६०६ मत प्राप्त गर्दा लोपेजले १६ हजार ८२१ मत पाउनुभयो। श्रेष्ठले करिब ६९ प्रतिशत मत प्राप्त गर्नुभएको छ।

उहाँले अघिल्ला निर्वाचनमा पनि आफ्नो मत प्रतिशत बढाउँदै लैजानुभएको थियो। सन् २०२२ मा ६०.७ प्रतिशत र सन् २०२४ मा ६४.१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो।

सन् २००१ मा काठमाडौंँबाट अमेरिका पुग्नुभएकी श्रेष्ठ राज्य संसद्मा निर्वाचित हुने पहिलो नेपाली मूलकी अमेरिकी महिला हुनुहुन्छ। उहाँले सन् २०२२ मा डेमोक्र्याटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा लामो समयदेखि पदमा रहँदै आउनुभएका केभिन काहिललाई पराजित गरेर एसेम्ब्लीमा प्रवेश गर्नुभएको थियो।

श्रेष्ठले जलवायु नीति, सस्तो आवास, सार्वजनिक शिक्षा, श्रमिक अधिकार र सार्वजनिक सेवाका क्षेत्रमा सरकारी स्वामित्व विस्तार गर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आउनुभएको छ। पछिल्लो जितले न्यूयोर्कको हड्सन भ्याली क्षेत्रमा उहाँको राजनीतिक प्रभाव थप मजबुत बनाएको छ।

न्यू ह्याम्पसायर : विश्वबहादुर शाह पहिलोपटक निर्वाचित
न्यू ह्याम्पसायर राज्यको म्यानचेस्टरस्थित हिल्सबरो काउन्टी डिस्ट्रिक्ट ४१ बाट डेमोक्र्याटिक पार्टीका उम्मेदवार विश्वबहादुर शाह निर्वाचित हुनुभएको छ। तीन सदस्य निर्वाचित हुने उक्त क्षेत्रबाट उहाँ पहिलोपटक राज्य संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्समा पुग्न सफल हुनुभएको हो।

अनौपचारिक निर्वाचन परिणामअनुसार शाहले पाँच हजार ७२६ मत प्राप्त गर्नुभएको छ। सोही पार्टीका लिली एम फोसले छ हजार ३१६ र टम स्टेवार्टले छ हजार २४१ मत प्राप्त गर्नुभएको थियो। रिपब्लिकन पार्टीका सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार रायन हेबर्टले तीन हजार ३९५ मत पाउनुभएको थियो।

निर्वाचन प्रचारका क्रममा शाहले बढ्दो महँगी नियन्त्रण, सार्वजनिक शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा र बाल हेरचाहमा सहज पहुँच तथा ज्येष्ठ नागरिकको हितलाई प्राथमिकतामा राख्नुभएको थियो।

उहाँले उच्च शिक्षा पूरा गरेपछि पनि म्यानचेस्टरमै रोजगारी प्राप्त गर्न, परिवार बसाउन र घर किन्न सक्ने वातावरण युवा पुस्ताका लागि निर्माण गर्नुपर्ने धारणा राख्दै आउनुभएको थियो। उहाँको विजयले न्यू ह्याम्पसायर राज्यको राजनीतिमा नेपाली मूलको समुदायको प्रतिनिधित्व थप विस्तार गरेको छ।

तीन राज्यमा नेपाली मूलका उम्मेदवारको विजयलाई अमेरिकी नागरिकता प्राप्त गरेका नेपालीका लागि व्यक्तिगत राजनीतिक सफलताभन्दा पनि आप्रवासी समुदायको लोकतान्त्रिक सहभागिताको उपलब्धिका रूपमा हेरिएको छ।

न्यूजर्सीमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका केशव राज सेढाईंले अमेरिकी नागरिकता प्राप्त गरेपछि मतदान गर्नु अधिकारसँगै जिम्मेवारी पनि भएको बताउनुभएको छ। विशेषगरी निर्वाचनमा सहभागिताका अवसर सीमित भएका वा राजनीतिक असहमतिका कारण जोखिम मोल्नुपर्ने देशबाट अमेरिका पुगेका आप्रवासीका लागि मतदानको विशेष महत्त्व रहेको उहाँको भनाइ छ।

“आफ्नो जन्मभूमि छाडेर अमेरिकी नागरिक बनेका व्यक्तिका लागि मतदान केवल नागरिक कर्तव्य मात्र होइन, नागरिकताले प्रदान गर्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हो”, सेढाईंले भन्नुभएको छ।

नयाँ नागरिक बनेका व्यक्तिले मतदानमा सहभागिता नजनाउँदा विद्यालय व्यवस्थापन, राज्यका कानुन तथा अर्थतन्त्र, स्वास्थ्य सेवा र आप्रवासनसम्बन्धी सङ्घीय नीतिमा अरूले निर्णय गर्ने उहाँको भनाइ छ।

मतदानमा सहभागी हुँदा आप्रवासीले आफ्नो अनुभव र मूल्यलाई राष्ट्रको भविष्य निर्माणमा जोड्न सक्ने तथा मतदानको अधिकार स्थापित गर्न योगदान गर्नेप्रति सम्मान व्यक्त हुने उहाँले बताउनुभएको छ।

सामुदायिक अभियानबाट मूलधारको राजनीतिसम्म
अमेरिकाका तीन राज्यमा नेपाली मूलका उम्मेदवारको विजयले नेपाली अमेरिकी समुदाय सामुदायिक अधिकार र पहिचानका अभियानबाट मूलधारको निर्वाचन राजनीतितर्फ अघि बढिरहेको सङ्केत गरेको छ।

भण्डारीको पुनःनिर्वाचनले मेरिल्यान्डको राज्य संसद्मा नेपाली समुदायको प्रतिनिधित्वलाई थप बलियो बनाएको छ। श्रेष्ठको विजयले न्यूयोर्कको हड्सन भ्याली क्षेत्रमा उहाँको राजनीतिक आधार विस्तार गरेको छ भने शाहको निर्वाचनले न्यू ह्याम्पसायरको राज्य संसद्मा नेपाली मूलको नयाँ प्रतिनिधित्व स्थापित गरेको छ।

नेपाली समुदायको जनसङ्ख्या र अमेरिकी नागरिकता प्राप्त गर्ने क्रम बढ्दै जाँदा राजनीतिक सहभागिताको महत्त्व पनि विस्तार हुँदै गएको छ।

भण्डारीले मतदान, सङ्गठन निर्माण, स्वयंसेवा र निर्वाचनमा उम्मेदवारीमार्फत मात्रै समुदायको सामाजिक उपस्थिति र प्रभाव स्थापित हुने बताउनुभएको छ। उहाँका अनुसार नेपाली समुदायले राजनीतिक प्रक्रियामा सक्रिय सहभागिता जनाएपछि मात्रै समाजमा आफ्नो पहिचान र आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न सक्छ।

अमेरिकामा बढ्दो नेपाली समुदायको राजनीतिक प्रभाव
एसियन अमेरिकन रिसर्च सेन्टरका अनुसार सन् २०२४ मा अमेरिकामा मतदान गर्न योग्य नेपाली मूलका नागरिकको सङ्ख्या ९१ हजार ९०९ रहेको अनुमान छ। तीमध्ये उत्तरपूर्वी क्षेत्रमा २४ हजार ५६१, मध्यपश्चिममा १६ हजार ६४५, दक्षिणी क्षेत्रमा ३१ हजार ९५३ र पश्चिमी क्षेत्रमा १८ हजार ७५० जना रहेका छन्।

अमेरिकामा नेपाली समुदायको सङ्ख्या बढ्नुमा निरन्तरको आप्रवासन र अमेरिकी नागरिकता प्राप्त गर्ने क्रम तीव्र हुनु प्रमुख कारण मानिएको छ।

सन् २०१४ सम्म २० हजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता प्राप्त गरिसकेका थिए। सन् २०१५ देखि २०२३ सम्म थप कम्तीमा ५६ हजार नेपाली अमेरिकी नागरिक बनेका थिए।

सन् २०२४ देखि २०२६ सम्मको नागरिकता प्राप्त गर्ने सङ्ख्यासमेत जोड्दा अमेरिकाको नागरिकता लिने नेपालीको कुल सङ्ख्या एक लाखको हाराहारीमा पुगेको अनुमान छ।

अमेरिकी गृह मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२२ मा नौ हजार ४१०, सन् २०२३ मा नौ हजार ३०० र सन् २०२४ मा आठ हजार ९१० नेपालीले अमेरिकी नागरिकता प्राप्त गरेका थिए।

अमेरिकी जनगणना ब्युरोका अनुसार सन् २०२३ मा अमेरिकामा नेपाली मूलका करिब दुई लाख २५ हजार मानिस बसोबास गरिरहेका थिए।

प्यु रिसर्च सेन्टरको अध्ययनले तीमध्ये ४६ प्रतिशतले अमेरिकामा एक दशकभन्दा बढी समय बिताएको र ४७ प्रतिशत अमेरिकी नागरिक रहेको देखाएको छ। यसअनुसार करिब एक लाख पाँच हजार नेपाली मूलका व्यक्ति अमेरिकी नागरिक रहेको अनुमान छ।

सन् २०२० को जनगणनाअनुसार अघिल्लो एक दशकमा अमेरिकामा नेपाली जनसङ्ख्या २६९ प्रतिशतले वृद्धि भएको थियो। कम्तीमा ५० हजार जनसङ्ख्या भएका एसियाली अमेरिकी समुदायमध्ये नेपाली समुदाय तीव्र गतिमा बढ्ने समुदायमा परेको थियो।

समाचार तथा तस्वीर स्रोत : किशोर पन्थी ‘नेपयोर्क’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.