जल/वातावरणबिशेष

बढ्दै सुक्खा पहिरोको जोखिम, गोरखामा पहिरोले खोला थुनिएर ताल

हिमाली तथा पहाडी क्षेत्रमा भूधरातल कमजोर बन्दै जाँदा नेपालमा सुक्खा पहिरो खस्ने र पहिरोले खोला थुन्ने जोखिम बढ्दै गएको छ । पछिल्लो समय वर्षा नभएको अवस्थामा समेत चट्टान, माटो र गेग्रान खस्ने घटना देखिन थालेका छन् ।

यसै क्रममा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सुक्खा पहिरो खसेर खोला थुनिँदा ताल बनेको छ । लार्के बजारबाट करिब दुई दशमलव पाँच किलोमिटर उत्तरमा लार्के बजार र धर्मशालाबीच पर्ने क्षेत्रमा बिहीबार राति वा शुक्रबार दिउँसो पहिरो खसेको स्थानीयको भनाइ छ । पहिरोले धिन्दुर खोलाको बहाव अवरुद्ध गरेपछि करिब डेढदेखि दुई सय मिटर क्षेत्रफलमा पानी जमेर ताल बनेको हो ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार पहिरोले खोला थुनिएर ताल बने पनि पानी छेउबाट बगिरहेको छ । स्थानीयसँगको जानकारीअनुसार तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । पहिले खोला बग्ने मैदान रहेको स्थानमा अहिले पानी जमेको र विस्तारै बाहिर निस्कन थालेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार करिब ३० मिटर माथिबाट खसेको पहिरो खोलासम्म पुगेपछि पानीको बहाव रोकिएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ सामागाउँस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन जनाको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बलको टोलीसमेत घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएको छ ।

शुक्रबार सार्वजनिक पछिल्लो विवरणअनुसार ताल तुलनात्मक रूपमा उथलो छ र त्यसबाट पानी निरन्तर बाहिरिइरहेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अधिकारीहरूले तत्काल ठूलो जोखिम नदेखिए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् ।

सुक्खा पहिरोको जोखिम बढ्दो

साम्दोको यो घटना एक्लो उदाहरण होइन । उत्तरी गोरखाकै मनास्लु क्षेत्रमा पछिल्लो समय सुक्खा पहिरो खस्ने क्रम दोहोरिएको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राक क्षेत्रमा समेत मंगलबारदेखि निरन्तर सुक्खा पहिरो झरिरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । यसले मनास्लु क्षेत्रका पहाडी भिर र चट्टानी भूभाग अस्थिर बन्दै गएको विषयमा थप चिन्ता बढाएको छ ।

यसअघि असोज २५ गते उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ क्षेत्रमा पहिरोले बूढीगण्डकी नदीको सहायक खोला थुनेर अस्थायी बाँध बनाउँदा ठूलो बाढी आएको थियो ।

अस्थायी रूपमा थुनिएको खोला एक्कासि फुटेपछि आएको बाढीले घर, पुल, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक अध्ययनले पनि पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बाढी आएको हुन सक्ने देखाएको थियो ।

नेपालको हिमाली तथा पहाडी भूभाग भौगर्भिक रूपमा नै संवेदनशील छ । भारतीय र युरेसियन भूगर्भीय प्लेटको निरन्तर अन्तरक्रियाबाट निर्माण भएको हिमालय क्षेत्रमा चट्टानहरू खुम्चिएका, चिरिएका र विभिन्न स्थानमा कमजोर अवस्थामा रहेका छन् ।

भूकम्प, प्राकृतिक क्षय, नदीको कटान र मानवीय गतिविधिले यस्ता भूभाग थप अस्थिर बनाउन सक्छन् । सडक निर्माणका क्रममा गरिने अव्यवस्थित कटान, वन विनाश र प्राकृतिक पानीको निकासमा हुने अवरोधले पनि पहिरोको जोखिम बढाउँछ ।

जलवायु परिवर्तनले पनि हिमाली भूधरातलको स्थिरतामा चुनौती थपिरहेको छ । तापक्रम वृद्धिका कारण हिमनदी पग्लने, हिउँ पग्लने र जमेको जमिन तथा चट्टानका चिरामा रहेको बरफ पग्लने प्रक्रियाले पहाडी भिर कमजोर बनाउन सक्छ ।

पूर्वी हिमालयका उच्च क्षेत्रमा सन् १९८७ देखि २०२० सम्मका ८ हजार ६०७ जलवायुजन्य पहिरोको अध्ययनले तीन दशकमा तीन हजार मिटरभन्दा माथिका क्षेत्रमा वार्षिक पहिरोको परिमाण पाँच गुणासम्म बढेको देखाएको छ । यो अध्ययन पूर्वी हिमालय क्षेत्रमा केन्द्रित भए पनि नेपालसहित समग्र हिमाली क्षेत्रको जोखिम बुझ्न महत्त्वपूर्ण छ ।

सुक्खा पहिरो विशेषगरी जोखिमपूर्ण हुन्छ । वर्षा वा अन्य स्पष्ट प्राकृतिक संकेत नदेखिँदै चट्टान र माटो खस्न सक्ने भएकाले स्थानीय बासिन्दाले समयमै जोखिम अनुमान गर्न कठिन हुन्छ । पहिरोले खोला थुनेर अस्थायी ताल बनाएमा पानीको चाप बढ्दै जाँदा बाँध एक्कासि फुट्न सक्छ ।

त्यसबाट तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउने जोखिम रहन्छ । गोरखामा यसअघि भएको बाढीको घटनाले पनि पहिरो र नदी अवरोध एकअर्कासँग जोडिँदा विपद् अझ विनाशकारी बन्न सक्ने देखाएको छ ।

पूर्वसूचना र भूगर्भीय अध्ययन आवश्यक

साम्दोमा अहिले तत्काल ठूलो जोखिम नदेखिए पनि बनेको तालको पानीको सतह, पहिरोको अवस्था र पानी बाहिरिने मार्गको नियमित निगरानी आवश्यक छ । सम्भावित रूपमा ताल फुट्न सक्ने अवस्थालाई ध्यानमा राखेर बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउनुपर्ने हुन्छ । आवश्यक परे प्राविधिक टोलीबाट पहिरोको स्थलगत अध्ययन गराई सुरक्षित निकासको व्यवस्था गर्नुपर्छ ।

नेपालमा पहिरोसम्बन्धी विपद् व्यवस्थापन वर्षायामको वर्षा र बाढीमा मात्र केन्द्रित हुँदै आएको छ । तर पछिल्ला हिमाली घटनाले सुक्खा पहिरो, चट्टान खस्ने, हिमपहिरो र नदी थुनिने जोखिमलाई पनि विपद् पूर्वतयारीको प्राथमिकतामा राख्नुपर्ने देखाएका छन् ।

जोखिमयुक्त पहाडी भिर र चट्टानी क्षेत्रको भूगर्भीय नक्साङ्कन, नियमित भूउपग्रह निगरानी, ड्रोनबाट निरीक्षण, स्थानीय तहमा पूर्वसूचना प्रणाली र नदीको माथिल्लो तटीय क्षेत्रमा जोखिम अनुगमनको व्यवस्था आवश्यक छ । साथै विकास निर्माणका नाममा गरिने अव्यवस्थित सडक खनाइ र प्राकृतिक भूधरातलमा हुने अनियन्त्रित हस्तक्षेप रोक्नुपर्ने देखिन्छ ।

हिमाली क्षेत्रमा हुने यस्ता घटनालाई स्थानीय पहिरोका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । एउटा पहिरोले खोला थुन्ने, ताल बनाउने र बाँध फुट्दा सयौँ किलोमिटर तलसम्म बाढीको असर पुर्‍याउन सक्ने भएकाले यसको जोखिम क्षेत्रव्यापी हुन्छ ।

साम्दोको पछिल्लो घटनाले नेपालका कमजोर बन्दै गएका हिमाली भूधरातलको अध्ययन, निगरानी र विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.