राजनीति

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।

साइप्रस कम्युनिष्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको निकोसियामा शनिबार आयोजित कार्यक्रममा उहाँले समकालीन विश्वमा बढ्दो भू-राजनीतिक तनाव, आर्थिक असमानता, जलवायु सङ्कट र अति दक्षिणपन्थी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, सामाजिक न्याय र अन्तरराष्ट्रिय शान्तिमा चुनौती थपेको बताउनुभयो ।

उहाँले अन्तरराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता, संवाद र छलफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उहाँको भनाइ थियो ।

समकालीन पुँजीवादी व्यवस्थाले सम्पत्ति र अवसरमा असमानता बढाएको उल्लेख गर्दै ज्ञवालीले श्रमिक अधिकार, सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र किफायती आवास सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको विकास मानवकल्याण र लोकतान्त्रिक नियन्त्रणमा उपयोग हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

समाजवादलाई शोषण र असमानताविरुद्धको आवश्यक ऐतिहासिक विकल्पका रूपमा व्याख्या गर्दै उहाँले माक्र्सवादी सिद्धान्तलाई प्रत्येक देशको विशिष्ट इतिहास र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै उहाँले एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतन्त्र, सामाजिक न्याय, समावेशीकरण र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्दै आएको बताउनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले एकेनको शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्रा सफलताको कामना गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.