प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न
यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गर्नुभयो ।
उहाँले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिनुभयो । नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हाँसिल गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन् ।
कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्यसम्पादनमा कुकुरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए । (रासस)




प्रतिक्रिया राख्नुहोस्