भाषा/साहित्य

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सङ्ग्रहका कवितामाथि समीक्षा गरिएको हो ।

कार्यक्रममा कर्णालीको ऐतिहासिक सभ्यता, पहिचान, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, सामाजिक यथार्थ र सामाजिक रूपान्तरण तथा जनजीवनलाई साहित्यका माध्यमबाट थप सशक्त रूपमा उजागर गरिएको सहभागीहरूले बताउनुभयो ।

साहित्यकार, समालोचक, निबन्धकार तथा त्रिभुवन विश्वविद्यालयकी पूर्वशिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले ‘प्रिय कर्णाली’मा प्रकृति, सामाजिक यथार्थ, राजनीतिक चेतना, वर्गीय विभेद र रूपान्तरणका विविध आयाम अभिव्यक्त भएको बताउनुभयो । उहाँले कवितामा प्रकृतिलाई जीवन र समाजको केन्द्र तथा मानवीय अनुभूति व्यक्त गर्ने बिम्ब र प्रतीकका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

कवितामा थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमता रहेको बताउँदै उहाँले त्यसका लागि बिम्ब र प्रतीकको प्रयोग महत्वपूर्ण हुने धारणा राख्नुभयो । परिचित परिवेश र जीवनका अनुभवबाट आएका बिम्बले कविताको भाव सम्प्रेषणलाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।

साहित्यका पूर्वस्रष्टाको विचारसँग असहमति राख्न सकिने भए पनि उनीहरूले साहित्य विकासमा पुर्‍याएको योगदानको सम्मान गर्नुपर्नेमा प्रा डा त्रिपाठीले जोड दिनुभयो । लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्यलगायत स्रष्टाका सिर्जनालाई तत्कालीन सामाजिक तथा ऐतिहासिक सन्दर्भमा बुझ्नुपर्ने उहाँको सुझाव छ ।

सङ्ग्रहका कवितामा माक्र्सवादी दृष्टिकोण, राजनीतिक चेतना, मानवतावादी चिन्तन र सामाजिक रूपान्तरणका विषय आएको उल्लेख गर्दै उहाँले पुँजीवादी उपभोक्तावादी चिन्तन, श्रमिकमाथिको व्यवहार, सत्ताको चरित्र र सामाजिक असमानताप्रति कविले प्रश्न उठाएको बताउनुभयो ।

पार्वतीको विद्रोह’, ‘मजदुर दिवस’, ‘सङ्घर्षका गाथाहरू’, ‘इतिहासको अध्याय’ र ‘झोले’लगायतका कविताबारे चर्चा गर्दै उहाँले कवितामा प्रस्तुत विचार र वैचारिक पक्षलाई अझ स्पष्ट तथा विस्तृत बनाउन सकिने धारणा राख्नुभयो ।

अग्रज पत्रकार तथा लेखक धर्मेन्द्र झा (कवि धर्मेन्द्र विह्वल) ले ‘प्रिय कर्णाली’ले कर्णाली क्षेत्रको सामाजिक, सांस्कृतिक, ऐतिहासिक अवस्था, पहिचान र त्यहाँका नागरिकले भोग्दै आएका पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो । राजेन्द्रका कवितामा कर्णालीप्रतिको गहिरो माया, अपनत्व र सामाजिक चेतना अभिव्यक्त भएको उल्लेख गर्नुभयो ।

कर्णालीसँगको सम्बन्ध जन्मभूमिको सम्झनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले कविले कर्णालीलाई आफ्नो जीवन, पहिचान र अस्तित्वसँग जोडेको धारणा राख्नुभयो ।

उहाँले कवितामा कर्णालीको गरिबी र अभावसँगै ऐतिहासिक सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा, जीवनशैली र नागरिकको आत्मसम्मान पनि अभिव्यक्त भएको बताउनुभयो ।

सङ्ग्रहका कवितामा २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को आन्दोलनपछिका राजनीतिक तथा सामाजिक परिवर्तनका अपेक्षा, सहिदको योगदान र अधुरा सपना पनि प्रतिबिम्बित भएको लेखक झाले बताउनुभयो । कर्णालीको इतिहास, संस्कृति, भाषा, परम्परा र मूर्त तथा अमूर्त सम्पदामाथि थप अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लेखक तथा प्राज्ञ डा मधुसूदन गिरीले कर्णाली क्षेत्रको ऐतिहासिक सभ्यता, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, जनजीवन र सङ्घर्षलाई साहित्य तथा कवितामार्फत जीवन्त रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । कर्णाली केवल भौगोलिक क्षेत्र मात्र नभई प्राचीन सभ्यता, इतिहास, संस्कृति र मानवीय अनुभूतिको महत्वपूर्ण स्रोत भएको उहाँको भनाइ थियो ।

विगतमा कर्णाली क्षेत्र तिब्बत र मध्यभारतबीचको व्यापारिक मार्गका रूपमा महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले घोडा, भेँडा, ऊन, सुन र जडीबुटीको व्यापारले त्यस क्षेत्रलाई आर्थिक रूपमा समृद्ध बनाएको उल्लेख गर्नुभयो ।

प्रस्तरकला, मन्दिर, देवल, वीरखम्बा लगायतका मूर्त सम्पदासँगै लोकगीत, लोकसंस्कृति, भाषा, परम्परा र जातीय जीवनशैलीको पनि गहिरो अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीले राजेन्द्रप्रसाद धितालको बहुआयामिक व्यक्तित्व, साहित्यिक चेतना र दार्शनिक पक्षको चर्चा गर्नुभयो ।

उहाँले धितालको सिर्जनामा समन्वय, सहकार्य र चिन्तनको संयोजन रहेको उल्लेख गर्दै जन्मभूमिप्रतिको स्नेह, देशभक्ति र सहिदप्रतिको सम्मान अभिव्यक्त भएको बताउनुभयो । कर्णालीको सांस्कृतिक, सामाजिक तथा भाषिक इतिहास लेखिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा कवि नरेन्द्र आचार्य, इन्दिरा शाह, चन्द्रप्रकाश बडुवाल, योगेन्द्र शाही र भीमबहादुर भारतीलगायतले आफ्ना कवितावाचन गर्नुभएको थियो ।

कविता सङ्ग्रहका सर्जक धितालले आफूले माक्र्सवादप्रति सम्मान व्यक्त गर्दै त्यसलाई आफ्ना कवितामा उतारेको बताउनुभयो । कार्यक्रममा प्राप्त आत्मीयता, स्नेह र भावनात्मक सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताहरूले ‘प्रिय कर्णाली’ले कर्णालीको मौलिक पहिचान, ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र जनजीवनलाई साहित्यिक विमर्शमा ल्याउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.