पशुपन्छीको बीमा गर्दै किसान
तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ ।
कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छी तथा माछाको कुल सङ्ख्या दुई लाख ६१ हजार ११२ छ । बीमा गरिएका पशुधनको विवरणमा सबैभन्दा धेरै कुखुरा छन् । त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ ।
ठकुरीका अनुसार गाई, भैँसी, घोडा–खच्चर, बाख्रा, बङ्गुर, कुखुरा र माछाको बीमित मूल्य जोड्दा रु ६८ करोड ९३ लाख ४२ हजार ४२८ पुगेको छ । यी पशुधनको बीमाका लागि कुल प्रिमियम शुल्क रु तीन करोड २२ लाख ९३ हजार ८९० रहेको छ भने किसानले व्यहोरेको रकम रु ६४ लाख ५० हजार ७७९ छ ।
ठकुरीका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ । कुखुराको बीमित मूल्य रु १० करोड ४५ लाख ९० हजार ६८१ छ । यसका लागि रु ३० लाख पाँच हजार १३३ प्रिमियम शुल्क लागेकामा किसानले रु छ लाख एक हजार २७ व्यहोरेका छन् ।
यस्तै ९८ हजार पाँच सय माछाको बीमा गरिएको छ । माछाको बीमित मूल्य रु २५ लाख २४ हजार रहेकामा रु ७५ हजार ७२० प्रिमियम शुल्कमध्ये किसानले रु १५ हजार १४४ व्यहोरेका छन् ।
तनहुँमा चार हजार ९१ गाईको बीमा गरिएको छ । ती गाईको बीमित मूल्य रु ३० करोड ९६ लाख ५२ हजार रहेको छ । गाईको बीमाका लागि रु एक करोड ५६ लाख ६९ हजार ४९४ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा रु ३१ लाख ३३ हजार ८०० रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, एक हजार ९७० भैँसीको बीमा गरिएको छ । भैँसीको बीमित मूल्य रु १५ करोड १७ लाख १४ हजार रहेको छ । त्यसका लागि रु ७५ लाख ४५ हजार ३९६ प्रिमियम शुल्क लागेकामा किसानले रु १५ लाख नौ हजार ७९ व्यहोरेका छन् ।
जिल्लामा तीन हजार ४१२ बाख्राको बीमा गरिएको छ । बाख्राको बीमित मूल्य रु छ करोड ८३ लाख ७४ हजार ७४७ छ । बीमाका लागि रु ३४ लाख ४८ हजार ७०९ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा रु छ लाख ७८ हजार ७४२ छ ।
त्यस्तै, ९८९ बङ्गुरको बीमा गरिएको छ । बङ्गुरको बीमित मूल्य रु पाँच करोड १८ लाख ८१ हजार रहेको कार्यालयले जनाएको छ । त्यसका लागि रु २५ लाख २९ हजार ४३८ प्रिमियम शुल्क लागेकामा किसानले रु पाँच लाख पाँच हजार ८८ व्यहोरेका छन् ।
यसका अतिरिक्त जिल्लामा तीन घोडा–खच्चरको बीमा गरिएको छ । तिनको बीमित मूल्य रु छ लाख रहेको छ । घोडा–खच्चरको बीमाका लागि रु ३० हजार प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा रु छ हजार छ ।
पशु बीमाले रोग, दुर्घटना तथा अन्य बीमालेखमा समेटिएका कारणबाट पशुधनमा क्षति हुँदा किसानलाई आर्थिक राहत उपलब्ध गराउने आधार तयार गर्ने ठकुरीको भनाइ छ । विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनमा संलग्न किसानका लागि बीमा उपयोगी हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्