जन सरोकार

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।

जिल्लाका केही विद्यालयमा अनुगमनका क्रममा शैक्षिक गुणस्तरभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक र कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँका अनुसार गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

पोखरेलले भन्नुभयो, “अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित हुनुभएको छ । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उहाँहरूले सुझाव दिनुभएको छ । विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ ।” उहाँका अनुसार अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको छ ।

विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उहाँले शिक्षकबाट अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह भएको बताउनुभयो ।

अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको पनि गुनासो गर्नुभयो । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उहाँको भनाइ छ ।

चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् । चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.