जङ्गली हात्तीको आक्रमणबाट आक्रान्त झापामा शुक्रबार बिहान बीच सडकमा गुडिरहेको मोटरसाइकलमाथि हात्तीले आक्रमण गरेको छ। शुक्रबार बिहान ५ः१० बजे बुद्धशान्ति–२ बिहानी टोलस्थित भित्री बाटो हुँदै बुधबारेतर्फ आउँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई तीन तले सामुदायिक वनबाट निस्किएको जङ्गली हात्तीले आक्रमण गरेको हो।
एआई तस्वीर
हात्तीको आक्रमणबाट मोटरसाइकल चालक सोही ठाउँका ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते हुनुभएको छ। उहाँलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको छ। छातीमा चोट लागेका पौडेल बोल्न सक्ने अवस्थामा रहेको र हात्ती पुनः जङ्गलतर्फ गएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
झापामा मानव–हात्ती द्वन्द्व पछिल्ला वर्षमा गम्भीर चुनौतीका रूपमा देखिँदै आएको छ। जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी मानिसको ज्यान जाने र स्थानीय बासिन्दा घाइते हुने गरेका छन्।
विशेष गरी वन क्षेत्र आसपासका बस्तीमा हात्तीको आवागमनले सर्वसाधारणको दैनिक जीवन असुरक्षित बनेको छ। बिहान–बेलुका आवतजावत गर्न तथा राति घरबाहिर निस्कनसमेत स्थानीय बासिन्दा डराउनुपर्ने अवस्था छ।
डिभिजन वन कार्यालयका अभिलेखअनुसार झापामा पछिल्लो १६ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० नेपाली र १० विदेशी नागरिक छन्।
यस अवधिमा मानव–हात्ती द्वन्द्वकै क्रममा २८ वटा जङ्गली हात्तीसमेत मारिएका छन्। कार्यालयको तथ्याङ्कअनुसार औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन्।
मानवीय क्षतिसँगै हात्तीले कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी पुर्याउँदै आएको छ। धान र मकै पाक्ने समयमा हात्तीको बथान खेतमा पसेर बाली खाइदिने र कुल्चेर नष्ट गर्ने गरेका छन्।
भण्डारण गरिएको अन्न, घरगोठ र पशुधनमा समेत क्षति पुग्ने गरेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको बाली हात्तीले नष्ट गरिदिँदा किसानको आम्दानी र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै हात्तीको आक्रमणबाट झापामा छ जनाको मृत्यु र १७ जना घाइते भएका थिए। सोही अवधिमा हात्तीपीडितलाई राहतस्वरूप एक करोड ९९ लाख ९० हजार रुपैयाँभन्दा बढी वितरण गरिएको डिभिजन वन कार्यालयको विवरण छ। हात्तीका कारण अन्नबालीमा भएको क्षतिबापत ५४ लाख पाँच हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको थियो।
वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, हात्तीको परम्परागत आवतजावत मार्ग अवरुद्ध हुनु र वनमा आहार तथा पानीको उपलब्धतामा आएको कमीलाई मानव–हात्ती द्वन्द्व बढ्नुका कारण मानिन्छ।
भारतसँगको खुला सीमाका कारण पनि झापामा हात्तीको आवतजावत नियमित हुने गरेको छ। आहार र पानीको खोजीमा वनबाट बस्ती तथा खेतबारीतर्फ आउने हात्तीले मानवीय र भौतिक क्षति पुर्याउने गरेका छन्।
द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार, वन क्षेत्रमा पोखरी निर्माण, हात्तीको निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तर छिटपुट प्रयासले मात्र समस्या समाधान हुन सकेको छैन।
हात्तीको परम्परागत मार्ग संरक्षण, वन क्षेत्रमा पर्याप्त आहार र पानीको व्यवस्था, जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली तथा सुरक्षित तारबारको प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको छ।
मानिस र वन्यजन्तु दुवैको अस्तित्व संरक्षण हुने गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता झापाको पछिल्लो घटनाले फेरि उजागर गरेको छ।
हात्तीको आक्रमणबाट हुने मानवीय क्षति रोक्न स्थानीय तह, वन कार्यालय, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा प्रभावकारी पूर्वतयारी अपरिहार्य देखिएको छ।




प्रतिक्रिया राख्नुहोस्