अर्थबिशेषसंस्कृति

तिहार सकियो सुरु भयो छठ- ग्रामीण अर्थतन्त्र चलायमान, महिलालाई आयआर्जनको अवसर

तिहार सकियो, आजबाट मिथिला संस्कृतिको गौरवशाली पर्व छठ सुरु भएको छ । यी दुबै पर्व नेपालको रैथाने सांस्कृतिक धरोहर हुन । तिहार र छठ धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावका पर्व मात्र होइनन्, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण आर्थिक अवसर पनि हुन्।

यी पर्वका अवसरमा फूल, माला, फलफूल, सेलरोटी, मिठाई, गुड, बाँसका सामग्री तथा पूजाका अन्य सामग्रीको माग बढ्दा किसान, महिला उद्यमी, घरेलु व्यवसायी र साना व्यापारीले अतिरिक्त आम्दानीको अवसर पाउँछन्।

विशेष गरी घरायसी सीप र श्रममा आधारित व्यवसायमा संलग्न महिलाका लागि यी पर्व मौसमी आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएका छन्।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको माग उच्च हुन्छ। घर, मठमन्दिर, पसल र सार्वजनिक स्थल सजाउन तथा भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिने परम्पराले फूलको बजार विस्तार गरेको छ।

फूल खेती गर्ने किसानदेखि माला गाँस्ने महिला, थोक तथा खुद्रा व्यापारी र ढुवानी व्यवसायीले यसबाट आम्दानी गर्छन्। घरको आँगनमा लगाइएका फूल बिक्री गरेर पर्वको खर्च जुटाउने ग्रामीण महिलाको सङ्ख्या पनि बढ्दो छ।

यस वर्ष तिहारमा देशभर करिब ५१ लाख ८० हजार थान फूलका माला खपत भएको अनुमान छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले अनुसार माला बिक्रीबाट मात्रै करिब ४८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको थियो ।

भारतबाट फूल आयातमा रोक लगाइएपछि फूल खेती गर्नेहरु बढेका छन् । अहिले मागको करिब ८९ प्रतिशत स्वदेशी उत्पादनबाट पूरा गरिएको दावी छ। यसले पुष्पखेती ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको र पर्वीय मागले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराएको देखाउँछ।

तिहारमा फूलसँगै सेलरोटी, अनरसा, खजुरी, मिठाई र अन्य परम्परागत परिकारको बजार पनि बढ्छ। घरमा बनाउन भ्याइनभ्याइ हुने परिवारले बजारबाट तयार परिकार खरिद गर्ने क्रम बढ्दा महिला उद्यमी तथा घरेलु उद्योगले उत्पादन बिक्री गर्ने अवसर पाउँछन्।

घरमै पकाइने परिकारलाई व्यावसायिक रूपमा उत्पादन गरेर पसल, स्थानीय बजार र अर्डरमार्फत बिक्री गर्ने महिलाका लागि तिहार आम्दानी बढाउने समय हो। यसले घरायसी सीपलाई उद्यममा रूपान्तरण गर्ने सम्भावना पनि देखाएको छ।

तिहारलगत्तै आउने छठले तराई–मधेशको ग्रामीण अर्थतन्त्रमा थप गतिविधि सिर्जना गर्छ। छठमा केरासहित विभिन्न फलफूल, उखु, नरिवल, अदुवा, सख्खर, माटाका भाँडा र बाँसबाट बनेका डाला, नाङ्लो, चाल्नी तथा अन्य सामग्रीको माग बढ्छ।

यी सामग्री उत्पादन र बिक्रीमा किसान, कुमाल, बाँसका हस्तकलाकार तथा साना व्यापारी संलग्न हुन्छन्। विशेषगरी सीमान्तकृत डोम समुदायका परिवारका लागि बाँसका सामग्री उत्पादन र बिक्री जीविकोपार्जनको महत्वपूर्ण आधार हो। पर्वको मागले उनीहरूको परम्परागत सीप र उत्पादनलाई बजार उपलब्ध गराउँछ।

छठका अवसरमा सख्खरको माग बढ्नुले उखु किसान र परम्परागत गुड उत्पादकलाई पनि फाइदा पुर्‍याउँछ। महोत्तरीमा छठका लागि सख्खर उत्पादन गर्ने किसान तथा व्यवसायी व्यस्त बनेका छन्।

छठमा बनाइने ठेकुवा र भुसुवाका साथै तिहारमा तयार गरिने सेलरोटीमा समेत सख्खर प्रयोग हुने भएकाले यसको माग बढ्ने गरेको छ। स्थानीय उत्पादकका अनुसार एक क्विन्टल सख्खर बनाउन आठदेखि १० क्विन्टलसम्म उखु आवश्यक पर्छ। सख्खरको मूल्य सामान्यतया प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म रहने र पर्वको माग बढ्दा उत्पादकले राम्रो मूल्य पाउने सम्भावना रहने गरेको छ।

यी गतिविधिले पर्वीय बजारको आर्थिक प्रभाव एउटा वस्तु वा व्यवसायमा मात्र सीमित नरहेको देखाउँछन्। किसानले उत्पादन बिक्री गर्छन्, महिलाले प्रशोधन र परिकार तयार गर्छन्, हस्तकलाकारले परम्परागत सामग्री बनाउँछन्, व्यापारीले बिक्री गर्छन् र ढुवानी व्यवसायले बजारसम्म सामान पुर्‍याउँछ।

यसरी एउटै पर्वको मागले उत्पादनदेखि उपभोगसम्मको स्थानीय आर्थिक शृङ्खला सक्रिय बनाउँछ। बजारमा हुने कारोबारबाट गाउँमा नगद प्रवाह बढ्छ र स्थानीय उत्पादनमा आधारित रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुन्छन्।

यद्यपि पर्वका बेला माग बढ्नु मात्रले ग्रामीण अर्थतन्त्र दीर्घकालीन रूपमा बलियो हुँदैन। फूल तथा फलफूलको उचित मूल्य नपाउने, भण्डारण र ढुवानीको समस्या, बजारसम्म सीधा पहुँच नहुने तथा बिचौलियाको प्रभावले किसान र उत्पादकले अपेक्षित लाभ लिन नसक्ने अवस्था पनि छ।

मौसमी मागमा मात्र निर्भर व्यवसायलाई वर्षभरि चलाउन बजार विस्तार, प्रशोधन, भण्डारण र बजारीकरणको व्यवस्था आवश्यक छ। महिलाले सञ्चालन गरेका घरेलु उद्यमलाई सहुलियतपूर्ण ऋण, तालिम, प्याकेजिङ र बजार पहुँच उपलब्ध गराउन सके यस्ता व्यवसायलाई दिगो बनाउन सकिन्छ।

तिहार र छठले स्थानीय उत्पादन र परम्परागत सीपको आर्थिक सम्भावना उजागर गरेका छन्। तर पर्वका बेला हुने कारोबारको ठूलो हिस्सा आयातित वस्तुमा खर्च हुँदा स्थानीय उत्पादनबाट प्राप्त हुन सक्ने आम्दानी बाहिरिने जोखिम पनि छ।

त्यसैले स्वदेशी फूल, स्थानीय फलफूल, घरेलु मिठाई, सेलरोटी र परम्परागत हस्तकलाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। स्थानीय उत्पादनलाई गुणस्तर, मूल्य र बजार व्यवस्थापनसँग जोड्न सके पर्वीय मागलाई ग्रामीण रोजगारी र आयआर्जनको स्थायी आधार बनाउन सकिन्छ।

धार्मिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको बजारलाई उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्नु नै तिहार र छठको आर्थिक महत्वलाई दिगो बनाउने उपाय हो।

यी पर्वले महिलाको श्रमलाई आम्दानीमा रूपान्तरण गर्ने, किसानको उत्पादनलाई बजार दिने र ग्रामीण समुदायमा आर्थिक गतिविधि बढाउने अवसर प्रदान गरेका छन्।

यस अवसरलाई योजनाबद्ध रूपमा उपयोग गर्न सके पर्व केवल उपभोग र खर्चको समय नभई स्थानीय उत्पादन, महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणको माध्यम बन्न सक्छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.