जन सरोकार

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् ।

दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ ।

“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुख मै ताला लगाएजस्तो भयो ।” होटल व्यवसायी मोहन बहादुर सिंहले भन्नुभयो, “स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय धरायासी बन्यो ।”

पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुल निर्माणमा रु २० करोड लागत लाग्नुका साथै पुल निर्माण सक्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ ।

“दसैँ तिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुँदा हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो”, सिंहले भन्नुभयो, “अझै पनि चार लेनको पुल हुँदै झोलुङ्गे पुल हेर्न आउँछन् तर हेर्ने वातावरण तयार भएको छैन ।”

उहाँले दूरीका हिसाबले छोटो पर्ने भएकाले दुई पाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीय पैदलयात्रा झोलुङ्गे पुलबाट गर्ने गरेका थिए ।

“महाकाली नदीमा पानी घटिसक्यो । अब त सरकारले पुल बनाउन थालनी गरिदिए हुन्थ्यो”, सिंहले भन्नुभयो, “पुल नबन्दासम्म वारिपारिका व्यवसायी निरास छन् । दैनिक रु आठ÷दश हजार कमाइ हुन्थ्यो । अहिले त ठप्प भयो ।”

त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यो पटक भने सुनसान रहेको बताउनुभयो “दसैँ तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक यहाँ अवलोकनका लागि आउँथे ।”

वडाध्यक्ष बोहराले भन्नुभयो, “हिउँदका बेला शैक्षिक भ्रमणले यो क्षेत्रको व्यापार व्यवसाय राम्रै हुन्थ्यो ।” पुल बन्द अवस्थामा रहँदा यसको प्रभाव धेरैतिर परेको छ ।”

उहाँले पुल पुनर्निर्माणका लागि तत्काल पहल हुनुपर्नेमा जोड दिनुभयो । “पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो ।”

बोहराले भन्नुभयो, “तर स्थलगत रुपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन ।” पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको छ ।

यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताउनुहुन्छ । उहाँले दोधारा चाँदनी पुल आवागमन सहजताका लागि मात्रै नभएर कञ्चनपुरको पर्यटकीयस्थलका रुपमा परिचित रहेको बताउनुभयो ।

“पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ”, अध्यक्ष मल्लले भन्नुभयो, “पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ ।” (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.