पुनर्गठनको माग र नेतृत्वको चुनौतीबीच एमालेको राष्ट्रिय भेलाको तयारी तीब्र
आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको छ । राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने र स्थानीय निर्वाचनको तयारीमा कार्यकर्ता परिचालन गर्ने कार्यक्रमका रूपमा अघि सारेको छ।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प खोज्नुपर्ने र नीति तथा संगठनमा पुनर्गठन गर्नुपर्ने माग उठिरहेका बेला हुन लागेको यस भेलालाई आन्तरिक शक्ति सङ्घर्ष र नेतृत्व विवादको दृष्टिले पनि चासोका साथ हेरिएको छ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि एमालेभित्र नेतृत्वको समीक्षा, पुस्तान्तरण र संगठनात्मक पुनर्गठनको माग चर्किएको हो।
अध्यक्ष ओलीकै नेतृत्वमा आगामी राजनीतिक चुनौती र स्थानीय निर्वाचनमा अघि बढ्न कठिन हुने भन्दै असन्तुष्ट नेताहरूले नेतृत्व परिवर्तनको विषयलाई पार्टीभित्र संस्थागत छलफलमा लैजानुपर्ने धारणा राख्दै आएका छन्।
पार्टी पुनर्गठनको माग गर्ने नेताहरूले नेतृत्वसँगै नीति, कार्यशैली र संगठनात्मक संरचनामा पनि परिवर्तन आवश्यक रहेको बताउँदै आएका छन्।
पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न गठन गरिएको पुनर्गठनसम्बन्धी कार्यदलमा समेत नेतृत्व परिवर्तनको विषयमा मतभेद देखिएको थियो।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई विकल्पका रूपमा अघि सारिएको थियो।
तर, उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको अर्को प्रतिवेदनले पार्टी संकटमा रहेका बेला नेतृत्व परिवर्तनको विषय उठाउनु उपयुक्त नहुने धारणा राखेको थियो। दुवै प्रतिवेदनलाई एकीकृत गर्ने प्रयास भए पनि नेतृत्वको भूमिकाबारे पार्टीभित्र मतभेद कायमै रहेको सार्वजनिक विवरणहरूले देखाएका छन्।
पुनर्गठनको पक्षमा रहेका नेताहरूले अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने माग उठाउँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव पोखरेल र उपमहासचिव योगेश भट्टराईलगायत नेताहरू पार्टीको नीति तथा नेतृत्व पुनर्गठनको बहसमा जोडिएका छन्।
यद्यपि, ओलीको विकल्पमा कसलाई अघि सार्ने र नेतृत्व परिवर्तनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा उनीहरूबीच एउटै धारणा बनिसकेको छैन।
अर्कोतर्फ अध्यक्ष ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले कसैले माग गर्दैमा नेतृत्व नछाड्ने धारणा राख्दै आएका छन्। उनले पार्टी पुनर्गठनको सट्टा पुनर्जागरण आवश्यक रहेको बताउँदै आएका छन्।
नेतृत्व परिवर्तनको मागलाई तत्काल अघि बढाउन नहुने पक्ष र पार्टीको नीति तथा नेतृत्व दुवैमा परिवर्तन आवश्यक रहेको पक्षबीचको मतभेदले एमालेको आन्तरिक राजनीति प्रभावित हुँदै आएको छ।
यही पृष्ठभूमिमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई दुवै पक्षले आ–आफ्नो दृष्टिकोणबाट महत्त्वपूर्ण मानेका छन्। संस्थापन पक्षले भेलामार्फत अध्यक्ष ओलीकै नेतृत्वमा पार्टीलाई पुनः सक्रिय बनाउने, संगठनात्मक कमजोरी सुधार्ने र आगामी स्थानीय निर्वाचनका लागि साझा सन्देश प्रवाह गर्ने तयारी गरेको छ।
पुनर्गठनको पक्षमा रहेका नेताहरू भने पार्टीको वर्तमान अवस्था, निर्वाचनमा भएको पराजयको जिम्मेवारी, नेतृत्वको भूमिका र संगठनात्मक सुधारका विषयलाई कार्यकर्तामाझ उठाउने तयारीमा रहेको बताइएको छ। यसअघि पनि देशका विभिन्न स्थानमा भएका छलफल र भेलाबाट नेतृत्व तथा संगठन पुनर्गठनका पक्षमा सुझाव आएको सार्वजनिक भएको थियो।
यसैबीच, एमालेले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।
भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे समीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो।
पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति थियो। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशबाट हुने सहभागिताबारे जानकारी गराएका थिए।
संगठन विभाग प्रमुख ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी सङ्घीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
भेलालाई पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
भेलास्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका तयारी भइरहेको ढकालले जानकारी दिनुभयो।
यातायात व्यवस्थापन सहज बनाउन पार्टीले सहभागी नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।
एमालेले भेलालाई संगठनात्मक एकता सुदृढ गर्ने र स्थानीय निर्वाचनको तयारीमा केन्द्रित हुने अवसरका रूपमा प्रस्तुत गरे पनि पार्टीभित्र उठिरहेको नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहसले यसको राजनीतिक महत्त्व बढाएको छ।
भेलामा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्व, नीति र संगठनबारे कस्तो धारणा राख्छन् र त्यसले पार्टीको आगामी निर्णय प्रक्रियालाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो केन्द्रित भएको छ।




प्रतिक्रिया राख्नुहोस्