नेकपा (एमाले) का अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आबद्ध रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाणित भए सदस्यहरूमाथि कारबाही गरिने बताउनुभएको छ।
पार्टीको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै उहाँले त्यस्ता गतिविधिमा संलग्न सदस्यलाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताउनुभयो।
अध्यक्ष ओलीले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई संगठन निर्माणमा जुट्न निर्देशन दिनुभयो।
पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गर्न आग्रह गर्दै उहाँले पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताउनुभयो। निर्वाचनमा विगतमा व्यहोर्नुपरेको धक्काको एउटा कारण कार्यकर्ताबीच एकता नहुनु रहेको उहाँको भनाइ थियो।
ओलीले आगामी निर्वाचनलाई स्थानीय सरकार गठनमा मात्र सीमित नराखी राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडेर हेर्नुपर्ने बताउनुभयो।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने र प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको परिणामको राष्ट्रिय महत्त्व रहने उहाँले उल्लेख गर्नुभयो। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संगठन निर्माणमा केन्द्रित हुन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो।
उहाँले आगामी निर्वाचनमार्फत स्थानीय तहबाट शिक्षा, स्वास्थ्य, विकास निर्माण र जनसेवाका कामलाई अघि बढाउनुपर्ने बताउँदै भ्रष्टाचार नियन्त्रणमा पनि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।
आगामी दिनमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने भएकाले सबैलाई रणनीतिक महत्त्वका साथ लिनुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे टिप्पणी गर्दै भदौ २३ र २४ गतेका घटनालाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर निर्वाचन गराइएको आरोप लगाउनुभयो।
बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तह निर्वाचनको तयारी र मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे छलफल हुने जानकारी दिनुभयो। बैठक आइतबारसम्म सञ्चालन हुने जनाइएको छ।




प्रतिक्रिया राख्नुहोस्