राजनीति

कांग्रेस महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा दुबो रोपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ । कांग्रेस महानगर समितिको आयोजनामा पार्टीको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन दुबो रोपिएको हो ।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुन:रोपन तथा संरक्षण गर्न आइतबार पार्टीका नेता-कार्यकर्ता खुलामञ्चमा जुटेका हुन् ।

पार्टीले कार्यक्रमअघि सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुन:स्थापना गर्ने काम सुरु गरेको हो ।

आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता, कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका छन् । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको कांग्रेस महानगरका सभापति इन्जिनीयर सुशन वैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको काम पनि भइरहेको छ । सभापति वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताउनुभयो । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उहाँले स्मरण गर्नुभयो ।

“महाधिवेशन स्थलका रूपमा हामीले खुल्लामञ्च प्रयोग गर्दा वर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भारी वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

उहाँले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताउनुभयो ।

सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारी पनि भएको उहाँको भनाइ छ । दुबो रोप्ने कार्यक्रममा पार्टीकी सहमहामन्त्री प्रतिमा गौतम, केन्द्रीय सदस्यहरु जनक चट्टौत, लेखनाथ पोखरेल, सीता मिजारलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.