अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न
लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आइतबार साँझ सम्पन्न गरिएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आइतबार कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।
नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आइतबार साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । सम्पूर्ण मिथिला क्षेत्रमा आइतबार साँझ ५:१० बजेको समयमा सूर्यास्त भएको थियो । सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो ।
मिथिलामा चाडपर्वबारे निर्णय लिइने मिथिला र विद्यापति पञ्चाङ्गअनुसार अर्घ्यकाे समय निर्धारण गरिन्छ । आइतबारको ‘सझिया अरख’ को समय यसैअनुसार निर्धारण भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताउनुभयो ।
कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान सूर्य र देवी षष्ठीको उपासना गरिने यो पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ ।
अर्घ्य दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए । जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ । व्रतालुले यससँगै क्रमश: छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।
कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय-खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् । खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खिर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । मिथिलामा यस दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ ।
अब व्रतालुले भोलि सप्तमी तिथिका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन् । मिथिलामा भोलि सोमबार बिहान ६:२६ बजे सूर्योदय हुने पञ्चाङ्गमा उल्लेख छ ।
सूर्योदयको यो समयमा पनि व्रतालु एक घडी (साढे दुई घण्टा) पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन् । बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुन्छ ।
बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको पण्डित झाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् ।
त्यसपछि प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ । मिथिलामा छठ प्रसाद महिना दिनभरिसम्म छोरीचेली, मित र अन्य इष्टमित्र कहाँ पुर्याउने चलन छ । सूर्यदेव र षष्ठीदेवी मिथिलामा इच्छित कामना पूरा गर्ने इष्टदेव/देवी मानिन्छन् ।(रासस)




प्रतिक्रिया राख्नुहोस्