संस्कृति

भक्तपुरको कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व

भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ पर्व मनाउन १०० भन्दा बढी व्रतालु तथा भक्तजन जुटेका छन् । सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्वका लागि कमलपोखरीलाई सजाएर पूजाको आवश्यक तयारी गरिएको छ ।

भक्तपुर नगरपालिका-१० स्थित नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा प्रत्येक वर्ष तराई मूलका नेपालीले सामूहिक रूपमा छठ पर्व मनाउँदै आएका छन् ।

विशेषगरी तराईलाई मूल घर बनाइ हाल भक्तपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका परिवारका साथै काठमाडौँको कोटेश्वर, काभ्रेको बनेपालगायत स्थानबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।

भक्तपुर छठ पर्व परिवारका अध्यक्ष नन्दलाल दासले व्रतालु तथा भक्तजनको सहजतालाई ध्यानमा राखेर हरेक वर्ष छठ पर्वको व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार छठ पर्वमा सहभागी हुन एक जनाका लागि रु दुई हजार ५०० का दरले नामदर्ता शुल्क लिने गरिएको छ । उक्त शुल्कबाट भक्तजनका लागि चियापान, खानपान तथा बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष दासले विगत १४ वर्षदेखि कमलविनायकमा छठ पर्व व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो । छठको तयारीसँगै कमलपोखरी परिसरमा सरसफाइ, सजावट, मञ्च निर्माण तथा टेण्ट राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

पोखरीको दक्षिणतर्फ पूजाका लागि मञ्च निर्माण गरिएको छ भने दक्षिण र पूर्वी किनारमा व्रतालु तथा भक्तजनको सुविधाका लागि लहरै त्रिपाल राखिएका छन् ।

स्थानीय विकुराम तजलेले कमलपोखरीमा प्रत्येक वर्ष धुमधामका साथ छठ पर्व मनाउने गरिएको बताउनुभयो । विगतका वर्षमा पर्वका अवसरमा पोखरी परिसर भक्तजनले भरिने गरेको स्मरण गर्दै उहाँले विशेषगरी तराई मूलका समुदायको उल्लेख्य सहभागिता रहने गरेको जानकारी दिनुभयो ।

पर्वमा सहभागी सुरेश यादवले विगत केही वर्षदेखि सङ्गठित रूपमा छठ पर्व मनाउँदै आएको बताउनुभयो । उहाँका अनुसार भक्तपुर छठ पर्व परिवार, कमलविनायकको संयोजनमा पर्वको व्यवस्थापन तथा पूजाका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भक्तपुर नगरभित्र रहेका ३४ वटा साना-ठूला पोखरीमध्ये पूर्वी क्षेत्रमा रहेको कमलपोखरी छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा परिचित छ । यहाँ प्रत्येक वर्ष ठूलो सङ्ख्यामा व्रतालु तथा श्रद्धालु भेला भई सामूहिक रूपमा पर्व मनाउने गरेका छन् ।

छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ । सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिने गर्दछ । यस पर्वलाई प्रकृति र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत लिइन्छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.