विश्व समाचार

इरानले वासिङ्टन डिसीमा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ ।

गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ ।

अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ ।

यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग कुराकानी गर्दै बहराइनमाथि इरानको आक्रमणको निन्दा गर्नुभएको छ ।

उहाँले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता दोहो¥याउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उता, उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताउनुभएको छ ।

फक्स न्युजसँग कुरा गर्दै उहाँले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले अनुकूल परिणामसहित द्वन्द्व अन्त्य गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । (रासस/एएनआई)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.