बिशेषराजनीति

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न संयोजक दाहालको आग्रह

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ ।

विस्तृत शान्ति सम्झौता भएको दिन (मङ्सिर ५) को अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको हो ।

२०६३ मङ्सिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी)का तर्फबाट अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै संयोजक दाहालले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए । तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।”

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी उहाँको भनाइ छ ।

शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.