जापान

गत अप्रिलको भूकम्पले सन् २०११ कै भूगर्भीय दरारमा धक्का दिएको अध्ययनको निष्कर्ष

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा अप्रिलमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले सन् २०११ को विनाशकारी भूकम्पपछि गएको ७.४ म्याग्निच्युडको परकम्पले चिरा पारेकै फल्ट (भूगर्भीय दरार) मा पुनः धक्का दिएको क्योटो विश्वविद्यालयका एक अनुसन्धानकर्ताले बताएका छन्।

सन् २०२६ अप्रिलमा जापानको उत्तरपूर्वी क्षेत्र इवाते प्रिफेक्चरको रिकुजेन्ताकाता सहरमा भूकम्पसम्बन्धी सतर्कता सूचना प्रदर्शित गर्दै गरेको विद्युतीय सूचना बोर्ड।

क्योटो विश्वविद्यालयका प्राध्यापक ताकुया निशिमुराले गरेको विश्लेषणअनुसार उक्त फल्टमा सञ्चित तनाव (स्ट्रेन) मुक्त भएको देखिएको छ। सो क्षेत्रमा ७ वा सोभन्दा बढी म्याग्निच्युडका भूकम्प बारम्बार जाने गरेका छन्। तर, उनले अब आसपासका अन्य क्षेत्रमा पनि भूकम्प जान सक्ने सम्भावनाप्रति सतर्क रहनुपर्ने चेतावनी दिएका छन्।

उपग्रहबाट प्राप्त स्थान निर्धारणसम्बन्धी तथ्यांक प्रयोग गरेर निशिमुराले अप्रिलमा गएको भूकम्प, सन् २०११ को ९.० म्याग्निच्युडको भूकम्पपछि गएको ७.४ म्याग्निच्युडको परकम्प, सन् १९९४ मा सानरिकु क्षेत्रभन्दा टाढा गएको भूकम्प तथा सन् २०२५ डिसेम्बरमा आओमोरी प्रिफेक्चरको तटीय क्षेत्रमा गएको भूकम्पको विश्लेषण गरेका थिए। उनले ती भूकम्पका स्रोत फल्टहरू पहिचान गर्ने प्रयास गरेका थिए।

विश्लेषणका क्रममा सन् २०११ को परकम्प र सन् २०२६ को भूकम्पमा पृथ्वीको सतहमा भएको विस्थापनको दिशा र विस्तार निकै समान रहेको पाइएको थियो।

ती दुवै भूकम्पका स्रोत फल्टको स्थान र आकार पनि एकअर्कासँग निकट रूपमा मेल खाएको पाइएपछि उनले एउटै फल्टमा दोहोरिएका भूकम्प भएको निष्कर्ष निकालेका हुन्।

यो क्षेत्र जापानका सबैभन्दा बढी भूकम्प जाने क्षेत्रमध्ये एक हो। सन् १९६० यता आसपासका क्षेत्रमा ७ देखि ८ म्याग्निच्युडसम्मका पाँचवटा भूकम्प गएको र ती भूकम्पबीच आठदेखि २१ वर्षसम्मको अन्तर रहेको निशिमुराले बताएका छन्।

उनको विश्लेषणले सन् २०२५ र सन् १९९४ मा गएका भूकम्प भने अप्रिल २०२६ को भूकम्पको फल्टभन्दा फरक फल्टमा गएको देखाएको छ। ती दुई भूकम्प सन् १९६८ मा गएको ७.९ म्याग्निच्युडको तोकाची–ओकी भूकम्पको फल्ट क्षेत्रका उत्तरी र मध्य भागसँग सम्बन्धित रहेको पाइएको छ।

सन् १९९४ को भूकम्पपछि फल्टको मध्य भागमा उल्लेखनीय हलचल भएको छैन। यसले त्यहाँ अर्को ठूलो भूकम्प जान सक्ने सम्भावनाबारे चिन्ता बढाएको निशिमुराले बताएका छन्।

निशिमुराले नागोयामा आयोजित जापानको भूकम्प विज्ञान समाजको बैठकमा आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गरेका थिए।
स्रोत : क्योदो न्यूज

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.