राजनीति

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उहाँले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिनुभयो ।

संयोजक प्रचण्डले भन्नुभयो, “अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।

पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उहाँले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.