जन सरोकार

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्विर तथा श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको उल्लङ्घन हुने गरेको पाइएको हो ।

समाजले आइतबार यहाँ पत्रकार सम्मेलन गरी सबैभन्दा टाढा सुदूरपश्चिमको कैलाली, टीकापुर, अत्तरियालगायत क्षेत्रबाट काठमाडौँसम्म भैँसी ल्याउँदा ४८ देखि ७२ घण्टासम्म लाग्ने जनाएको छ ।

उक्त अवधिमा कतिपय पशुलाई पानी तथा खाना उपलब्ध नगराइने गरेको तथ्य सार्वजनिक गरेको हो । “लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो ।

तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ । यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ”, समाजका निर्देशक हरि जोशीले भन्नुभयो ।

उहाँका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ ।

कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिइ बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उहाँको भनाइ छ ।

कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको समाजका निर्देशक जोशीले बताउनुभयो । समाजले पशुपन्छीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न जनचेतनामूलक केन्द्रित अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान सुरु गरिएको निर्देशक जोशीले जानकारी दिनुभयो ।

उहाँले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिनुभयो । “पशु पनि जीवित प्राणी हुन् । उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ । त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकार भएका निकायको दायित्व हो”, उहाँले भन्नुभयो ।

पशु ढुवानीका लागि सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजका निर्देशक जोशीको भनाइ छ । पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।

निर्देशक जोशीले पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल (रेस्टिङ सेन्टर) स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

काठमाडौँमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक तथा व्यवस्थित वधशाला स्थापना गर्नु अर्को विकल्प हुनसक्ने जोशीले उल्लेख गर्नुभयो ।

समाजका अनुसार काठमाडौँमा राँगाभैँसी तथा अन्य पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर, विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन् । पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको भनाइ छ ।

विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कस्तो तरिकाले ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताउनुभयो ।

उहाँले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.